बालेन शाहको सुदूरपश्चिम दौडाहाः एकैदिन १३ स्थानमा सम्बोधन

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज सुदूरपश्चिमका दुई जिल्लामा एकैदिन १३ वटा कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

मंगलबार बिहान कैलाली पुगेका बालेनले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा आयोजना गरिएका स्वागत तथा अभिवादन कार्यक्रमहरूमा सहभागी हुँदै स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने रास्वपाले जनाएको छ। पार्टीका अनुसार यो दौडाहा निर्वाचन केन्द्रित जनसम्पर्क अभियानको हिस्सा हो।

बालेनको कार्यक्रम तालिकाअनुसार बिहान राजापुरबाट सुरु हुने कार्यक्रम टिकापुर, लम्की, बर्दगोरिया, सुखड, पहमानपुर, मसुरिया, चौमाला हुँदै अत्तरियासम्म पुग्नेछ। अत्तरियामा दिउँसो खाना र संक्षिप्त भेटघाटपछि उनी धनगढी बजारमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्।

त्यसपछि बालेन कञ्चनपुरतर्फ प्रस्थान गर्दै पुनर्वास, झलारी र महेन्द्रनगर बजारमा आयोजना गरिएका स्वागत तथा अभिवादन कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ। महेन्द्रनगरको घण्टिघर–मदनचोक क्षेत्रमा साँझको अन्तिम कार्यक्रम राखिएको छ।

रास्वपाले बालेनको यस दौडाहालाई स्थानीय तहमा पार्टीको सन्देश पुर्‍याउने, जनअपेक्षा बुझ्ने र आगामी निर्वाचनका लागि संगठन विस्तार गर्ने उद्देश्यसहितको अभियानका रूपमा व्याख्या गरेको छ।

पार्टीका अनुसार सीमित समयभित्र धेरै स्थानमा पुग्ने भएकाले कार्यक्रमहरू छोटा तर केन्द्रित हुनेछन्। बालेनले विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र स्थानीय मुद्दाका विषयमा आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ।

कार्यक्रम तालिका :कैलाली जिल्ला

सम्बन्धित समाचारसबै