जनसांख्यिक परिवर्तनसँगै बदलिँदै कोशीको चुनावी धार

0 Shares

झापा। ५ मा केपी शर्मा ओली र बालेन शाह को उम्मेदवारीसँगै कोशी प्रदेश यतिबेला देशकै सबैभन्दा चासोको चुनावी क्षेत्र बनेको छ। १४ जिल्ला र २८ प्रतिनिधिसभा क्षेत्र रहेको यस प्रदेशमा ३५ लाखभन्दा बढी मतदाता छन्, जसले यसको राजनीतिक महत्व झनै बढाएको छ।

पूर्वी नेपालको सबैभन्दा होचो स्थान केचनाकवलदेखि संसारकै अग्लो शिखर सगरमाथा सम्म फैलिएको यो प्रदेश भौगोलिक विविधतासँगै जातीय तथा सांस्कृतिक बहुलताका कारण विशेष राजनीतिक संवेदनशीलता बोकेको क्षेत्र मानिन्छ।

झापा, मोरङ र सुनसरीजस्ता तराईका जिल्लामा उच्च जनघनत्व, उद्योग–व्यापार र बसाइँसराइको प्रभाव बढी छ। यहाँ पहाडबाट बसाइँ सरेको जनसंख्याको उपस्थिति उल्लेख्य भए पनि मधेशका आदिवासी समुदायको मत निर्णायक मानिन्छ।

पहाडी जिल्लाहरूमा भने राई, लिम्बु लगायतका समुदायको प्रभावले पहिचान, स्वायत्तता र मुद्दा–आधारित राजनीतिलाई समर्थन गर्ने प्रवृत्ति देखिन्छ।

शहरी क्षेत्रमा सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता मुद्दा प्रभावशाली छन्। यही कारण राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ राजनीतिक शक्तिप्रति आकर्षण बढ्दो देखिन्छ।

भोजपुर, खोटाङ, ओखलढुंगा, पाँचथर, ताप्लेजुङ र तेह्रथुमजस्ता पहाडी जिल्लामा भने स्थानीय नेतृत्व, जातीय प्रतिनिधित्व र समुदायगत सम्बन्ध निर्णायक बन्न सक्छ।

कोशी प्रदेशलाई किराँत सभ्यताको भूगोलका रूपमा पनि चिनिन्छ। राई–लिम्बु समुदायको उल्लेख्य उपस्थिति रहेको क्षेत्रमा प्रदेश नामकरण, खुवालुङ–मुकुम्लुङजस्ता सांस्कृतिक मुद्दा र “पहिचान” को बहस चुनावी मुद्दाका रूपमा स्थापित भएका छन्।

यस सन्दर्भले नेकपा (एमाले) माथि ‘पहिचान–विरोधी’ छवि लागेको विश्लेषण गरिन्छ, जसले आदिवासी जनजाति मतमा असर पार्न सक्ने आँकलन छ। क्षेत्रीय दलहरूको उदयले पनि मत विभाजनको सम्भावना बढाएको छ।

पहाडबाट तराईतर्फ तीव्र बसाइँसराइले झापा, मोरङ र सुनसरीको जनसंख्या संरचना बदलिएको छ। अहिले तराईका शहरी क्षेत्रमा पहाडी र मधेशी आदिवासी मतदाताको मिश्रण छ। यसले पहिचानको मुद्दा तराईमा पनि प्रभावशाली बनाएको छ, यद्यपि शहरी क्षेत्रमा रोजगारी, व्यापार र सुशासनका विषय प्राथमिकतामा पर्छन्।

२०७९ को निर्वाचनमा एमाले १३ सिट जितेर पहिलो शक्ति बनेको थियो भने नेपाली कांग्रेस ९ सिटमा सीमित भएको थियो। यसपटक भने समीकरण परिवर्तन हुने संकेत देखिन्छ।

एमालेको परम्परागत आधार बलियो भए पनि पहिचान विवाद, आन्तरिक असन्तुष्टि र नयाँ पुस्ताको असन्तोष चुनौतीका रूपमा छन्। कांग्रेस संगठनात्मक संरचनामा भरोसा राखे पनि पुरानो पुस्ताको असन्तुष्टि बाधक बन्न सक्छ। उता रास्वपाको प्रभाव विशेषतः शहरी तराई र केही पहाडी केन्द्रमा बढ्दो देखिन्छ।

कोशी प्रदेशको चुनावी परिणाम भूगोल, बसाइँसराइ, जातीय विविधता र पहिचान राजनीतिले निर्धारण गर्ने देखिन्छ। यसपटकको निर्वाचनले एमालेको प्रभुत्व कमजोर पार्ने, कांग्रेसको आंशिक पुनरुत्थान र नयाँ शक्तिको उदय संकेत गर्ने विश्लेषण गरिए पनि अन्तिम तस्वीर भने फागुन २१ मा खसेको मत गणनापछि मात्रै स्पष्ट हुनेछ।

सम्बन्धित समाचारसबै