अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन्। उनी आज बिहान करिब सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरेको स्रोतले जनाएको छ।
भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित नेपाल भ्रमणमा आएका हुन्। काठमाडौं बसाइका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै, सरकारका केही मन्त्रीहरूसँग पनि छलफल गर्ने तयारी गरिएको बताइएको छ।
गत वर्ष अक्टोबरमा डोनाल्ड ट्रम्प ले दक्षिण एशियाली सुरक्षाका विज्ञ कपुरलाई दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए। यसअघि उक्त जिम्मेवारी डोनाल्ड लु ले सम्हाल्दै आएका थिए।
कपुरको काठमाडौं भ्रमण तीन दिनसम्म रहनेछ। भ्रमणका क्रममा नेपाल–अमेरिका सम्बन्ध, क्षेत्रीय सुरक्षा तथा आपसी सहकार्यका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ। उनी बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ।
बालेन नेतृत्वको सरकार गठन भएपछि नेपाल आउने कपुर सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ भएको उल्लेख गरिएको छ।