काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेकपा एमालेले भोगेको अनपेक्षित पराजयपछि पार्टीभित्र नतिजाको जिम्मेवारी लिने र नेतृत्वलाई दबाब दिने क्रम सुरु भएको छ। यसै सन्दर्भमा नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पोखरेलले जनमतको कदर गर्दै पार्टीको कमजोर निर्वाचन परिणामको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन्। उनले आजकै मितिदेखि लागू हुने गरी जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
पोखरेलले आफ्नो स्टाटसमार्फत पार्टीको केन्द्रीय नेतृत्वलाई समेत जिम्मेवारी लिन आग्रह गर्दै आवश्यक परे नेतृत्व तहले समेत पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। उनले पार्टी पुनर्गठनका लागि नेतृत्व परिवर्तन र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको भन्दै सार्वजनिक रूपमा चुनौती दिएका छन्।
पोखरेलले नेकपा माले हुँदै एमालेसम्मको ४५ वर्षे राजनीतिक यात्रामा अहिले पार्टीले भोगेको परिणाम अत्यन्त गम्भीर रहेको उल्लेख गर्दै यसबारे गहिरो समीक्षा हुनुपर्ने बताएका छन्। नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले लेखेका छन्, ‘यो परिणामको वास्तविक कारण पहिचान नगरी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इर्ष्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन।’
उनले पार्टीभित्र तलदेखि माथिसम्म सबै तहका नेताहरूले आत्मसमीक्षा गरी आफ्नो–आफ्नो जिम्मेवारी स्वीकार गर्नुपर्ने बेला आएको बताएका छन्। पार्टी अध्यक्षदेखि महासचिवसम्मका नेताहरूले पनि परिणामको जिम्मेवारी लिएर आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ।
‘पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिवलगायत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्छ, र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नेतृत्वले बाटो प्रशस्त गर्नुपर्दछ,’ पोखरेलले लेखेका छन्।
पोखरेलका अनुसार पार्टीलाई आगामी दिनमा जीवित र सुदृढ राख्न यथार्थलाई आत्मसात् गर्दै नेतृत्व र कार्यकर्ता दुवैले जिम्मेवारी लिनु आवश्यक छ। उनले पार्टीभित्र नयाँ सोच, ऊर्जा र नेतृत्वको आवश्यकता औँल्याएका छन्।
राजीनामा दिए पनि पार्टीप्रति आफ्नो प्रतिबद्धता कायमै रहने उनले बताएका छन्। विशेष गरी नयाँ युवा पुस्ताले पार्टीलाई सही दिशाबाट अगाडि बढाउने विश्वास व्यक्त गर्दै आफूले उनीहरूलाई पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
पोखरेलले आफूलाई अहिलेसम्म प्राप्त सहयोग, माया र सद्भावप्रति आभार व्यक्त गरेका छन्। साथै प्रतिनिधिसभा निर्वाचनबाट भर्खरै निर्वाचित भएका सबै सांसदहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।