मतगणनापछि घाम हरायो

0 Shares

काठमाडौं। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अपेक्षित सफलता हात पार्न नसकेर घाम हराएको मात्र होइन , उपत्यकामा मौसम पनि धुम्मिन थालेको छ। मतदानको दिनसम्म मौसमले साथ दिएको भए पनि निर्वाचनपछि मौसमी गडबढी सुरु भएको छ।

हाल काठमाडौं, भक्तपुर र ललितपुरमा वायुमण्डलीय प्रदूषण बढेको छ। सोमबार अपराह्न काठमाडौंको एयर क्वालिटी इन्डेक्स (AQI) १६९, भक्तपुर १६६ र ललितपुर १६१ पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका प्रवक्ता विभूति पोखरेलका अनुसार अझै दुई–तीन दिन मौसम यस्तै धुम्मिनेछ। पोखरेलले भने, “प्रदूषण च्यापिएर बसेका बेला स्वास्थ्यलाई हानि पुग्छ। कतैकतै थोरै वर्षा भएको छ। अझै कम्तीमा दुई–तीन दिन मौसम यस्तै धुम्म हुनेछ।”

हाल प्रि–मनसुन सुरु भइसकेको छ। सामान्यतया प्रि–मनसुनको समयमा बिहान गर्मी बढ्ने र अपराह्न हावाहुरी, मेघगर्जनसहित वर्षा हुने गर्दछ। तर पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण मौसमको पूर्वानुमान गर्न कठिन भएको छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले यतिबेलाको अवस्थालाई केवल “मौसमी घटना” मात्र भनेका छन्। उनले भने, “कतिपय निजी संस्थाहरू मनपरी तथ्यांक दिइरहेका छन्। विभागको तथ्यांक मात्र आधिकारिक हुन्छ।” आइतबार काठमाडौंमा हावाको गुणस्तर १७४ AQI पुगेको भए पनि पर्याप्त घाम परेको भए प्रदूषण १२० AQI मा झर्ने स्थिति भएको उनी बताउँछन्।

सुवेदीका अनुसार हावाको गुणस्तर २४ घण्टामा ३०० AQI पुगेपछि मात्रै नाजुक अवस्था मानिन्छ। हाल १७४ AQI रहेकाले सामान्य सतर्कता पर्याप्त छ। प्रदूषण अझै महिनौं रहिरहने सम्भावना छ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले उच्चचापीय प्रणाली र पूर्वी नेपाल नजिक रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारण प्रदूषण बढिरहेको र पानी नपर्ने भएकाले प्रदूषणको मार अझै झेल्नुपर्ने बताएका छन्।

समग्रमा, निर्वाचनपछि मौसम धुम्मिनु र पानी नपर्नुका कारण उपत्यकामा प्रदूषण बढेको र स्वास्थ्यका लागि सामान्य सतर्कता आवश्यक रहेको विशेषज्ञहरूले बताएका छन्।

सम्बन्धित समाचारसबै