निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार निर्वाचन प्रहरीलाई फागुन २८ गते बिदाइ गरिने

0 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीले आफ्नो कार्यअवधि पूरा गरेका छन्। निर्वाचन सुरक्षामा खटाइएका उनीहरूलाई अब औपचारिक रूपमा बिदाइ गर्ने तयारी गरिएको छ।

प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरी बल नेपालले १५ हजार ११० जना गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरी परिचालन गरेको थियो। उनीहरूलाई करिब ४० दिनसम्म निर्वाचन सुरक्षामा खटाइएको थियो।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ भने मतगणनाको नतिजा पनि सार्वजनिक भइसकेको छ। यससँगै सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई फागुन २८ गते देशभर औपचारिक रूपमा बिदाइ गरिने तयारी गरिएको छ।

अवि नारायण काफ्ले, नेपाल प्रहरीका प्रवक्ता (डीआईजी)का अनुसार फागुन २८ गते देशभर निर्वाचन प्रहरीलाई ‘धन्यवाद पत्र’ प्रदान गर्दै बिदाइ गरिनेछ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालले पनि सोही दिन आफ्नो मातहतमा रहेका निर्वाचन प्रहरीलाई बिदाइ गर्ने भएको छ। सशस्त्र प्रहरीका प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार निर्वाचन सुरक्षामा खटिएका १५ हजार ११० जना निर्वाचन प्रहरीलाई बिहीबार औपचारिक रूपमा बिदाइ गरिनेछ।

निर्वाचन सुरक्षामा ४० दिन खटिएबापत सरकारले प्रत्येक निर्वाचन प्रहरीलाई ३४ हजार ७७६ रुपैयाँ तलब उपलब्ध गराएको छ। यसबाहेक रासन तथा आउजाउका लागि ८४६ रुपैयाँ तयारी खर्च दिइएको छ भने चार दिनका लागि दैनिक ३०० रुपैयाँका दरले खाजा खर्च पनि उपलब्ध गराइएको छ। पोसाकबापत छुट्टै रकम उपलब्ध गराइएको नेपाल प्रहरीले जनाएको छ।

प्रवक्ता काफ्लेका अनुसार निर्वाचन प्रहरीलाई सेवा सुविधा किस्ता किस्तामा वितरण गरिएको छ। अधिकांशले सेवा सुविधा प्राप्त गरिसकेका छन् भने केहीले लिने प्रक्रियामा रहेका छन्।

निर्वाचन सुरक्षामा परिचालित दुई सुरक्षा निकायका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीका लागि सेवा–सुविधा उपलब्ध गराउन करिब ७ अर्ब ८३ करोड रुपैयाँ खर्च भएको सुरक्षा अधिकारीहरूले बताएका छन्। यसमध्ये नेपाल प्रहरीले मात्रै करिब ७ अर्ब १३ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ भने सशस्त्र प्रहरी बल नेपालले करिब ७० करोड रुपैयाँ खर्च गरेको जनाएको छ।

निर्वाचन ड्युटीका क्रममा ११ जना निर्वाचन प्रहरीको मृत्यु भएको थियो भने दुर्घटनामा परेर नेपाल प्रहरीका एक असईको पनि ज्यान गएको थियो। ड्युटीका क्रममा मृत्यु भएका निर्वाचन प्रहरीका परिवारलाई सरकारले बिमाबापत २० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ।

यसैगरी, बिरामी परेका निर्वाचन प्रहरीको उपचार खर्चसमेत सरकारले व्यहोरेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारसबै