काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका जेन–जी पुस्ताको चासो र अपेक्षा बढेको छ। उनीहरूले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, र सन्तुलित प्रणालीगत सुधारको आशा राखेका छन्।
प्रतिनिधि सभामा निर्वाचित नवयुवाहरूको उपस्थितिले आगामी सरकारलाई युवामैत्री नीति, डिजिटल सेवा, र पारदर्शी विकासमा केन्द्रित हुने अपेक्षा जेन–जी पुस्ताले व्यक्त गरेका छन्।
गत भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध भएको जेन–जी प्रदर्शनमा सहभागी भएर घाइते भएका २५ वर्षीय मदन कार्कीले सरकारले युवापुस्ताको मागलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले भने, “नेपालीले आफ्नै देशभित्र सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनोस्, सुशासन कायम होस् र भ्रष्टाचारको अन्त्य होस्। आन्दोलनका क्रममा भएका घटनाका दोषीलाई कारबाही गर्नुपर्छ।”
घाइतेकी २० वर्षीया लिजा अधिकारी अस्पतालको श्ययाबाटै नयाँ सरकारप्रति युवाका माग कार्यान्वयन गर्ने आशा व्यक्त गरिन्। उनले भनिन्, “हामीले आन्दोलनमार्फत उठाएका मुद्दा पूरा हुनेमा विश्वास छ। सुशासनसँगै देशभित्र रोजगारी सिर्जना गर्न सरकारले ध्यान दिनुपर्छ।”
रामेछाप स्थायी घरकी २२ वर्षीया सुजता कार्कीले जेन–जी आन्दोलनपछि युवाहरूमा राजनीतिप्रतिको चासो बढेको अनुभव साझा गर्दै, आगामी सरकारले पार्टटाइम रोजगारीको व्यवस्था र विकट क्षेत्रको पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने सुझाइन्।
दोलखाका २३ वर्षीय विशाल बुढाथोकीले नयाँ सरकारले गाउँ–सहर विकास असन्तुलन हटाएर नीतिगत सुधार र पूर्वाधार विकासमा गति दिनुपर्ने विश्वास व्यक्त गरे। काठमाडौँका २७ वर्षीय विनय ढुङ्गानाले डिजिटल सरकार र उत्पादनमुखी अर्थतन्त्रमा ध्यान दिनुपर्ने सुझाव दिए।
दोलखाका २४ वर्षीय किरण बुढाथोकीले घोषणापत्र कार्यान्वयनको महत्व औँल्याउँदै पर्यटन, जलविद्युत् र कृषिमा सरकारले काम गर्नुपर्ने धारणा राखे। खोटाङकी १९ वर्षीया सलिना राईले स्वदेशमै भरपर्दो रोजगारीको निर्माणलाई अबको सरकारको मुख्य जिम्मेवारी ठहरिन्।
युवाहरूको स्पष्ट सन्देश छ,अबको सरकारले रोजगारी सिर्जना, सुशासन, पारदर्शिता र प्रणालीगत सुधारमा तत्काल ध्यान दिनुपर्छ।