काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन तथा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे टिप्पणी गर्दै कम्युनिष्ट शक्तिहरू समयमै नसच्चिए भविष्यमा गम्भीर संकट आउन सक्ने चेतावनी दिएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले पाँच वर्षअघि नै आफूले नेकपाको ‘क्लाईमेक्स’ (उत्कर्ष) र ‘कोल्याप्स’ (पतन) को अवस्थाबारे अनुमान गरेको स्मरण गरेका छन्। उनका अनुसार वामपन्थी दलहरू एकताबद्ध हुँदा जनतामा अभूतपूर्व उत्साह देखिएको थियो, तर आन्तरिक आधार कमजोर भएका कारण एकता लामो समय टिक्न सकेन।
उनले लेखेका छन्, “पाँच वर्षअघि मैले भनेको थिएँ, यो नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय हो। वाम पार्टी मिलेका थिए र जनतामा अभूतपूर्व उत्साह थियो। तर विचार, संगठन र व्यवहार दुई मितको अधीनस्थ थिए र एकताको आधार कमजोर थियो।”
तत्कालीन नेकपाको नेतृत्व तहको कार्यशैलीप्रति संकेत गर्दै बास्कोटाले विश्व कम्युनिष्ट आन्दोलनका अनुभवबाट पर्याप्त पाठ नसिकिएको बताए। उनले सोभियत संघको विघटन बाट सिक्न नसकिएको र चीन को मोडेल नक्कल गर्ने प्रयास असफल भएको टिप्पणी गरे। “सोभियत संघबाट सिकिएन र चिनियाँ नक्कल सुपरफ्लप भयो,” उनले भनेका छन्।
कम्युनिष्ट आन्दोलन पूर्ण रूपमा समाप्त नभएको उल्लेख गर्दै उनले समयमै आत्मसमीक्षा नगरे आगामी निर्वाचन वा राजनीतिक परिस्थितिमा ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन्। “सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ,” बास्कोटाले लेखेका छन्।
यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीचको एकताबाट बनेको थियो। तर आन्तरिक विवाद र शक्ति संघर्षका कारण उक्त एकता टिक्न नसकी पार्टी पुनः विभाजित भएको थियो। अहिले दुवै दल फरक फरक रूपमा राजनीतिक गतिविधि सञ्चालन गरिरहेका छन्।