निर्वाचन परिणाम अपेक्षाअनुसार आएन, जनताको मतलाई सम्मान गर्छु : केपी शर्मा ओली

0 Shares

काठमाडौं । केपी शर्मा ओली ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षा गरेजस्तो नआए पनि जनताको मतलाई पूर्ण रूपमा सम्मान गर्ने बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत मतदाताहरूलाई धन्यवाद दिँदै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले आफूहरू जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने बताएका हुन्।

यस पटकको निर्वाचनमा झापा जिल्ला क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओली पराजित भएका छन्। उनको पार्टी एमालेले पनि प्रत्यक्षतर्फ अपेक्षाअनुसार परिणाम ल्याउन नसकी जम्मा ९ सिट मात्र जितेको छ।

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।”

उनले एमालेका पक्षमा मतदान गर्ने सबै मतदातालाई धन्यवाद व्यक्त गरेका छन्। “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो, तपाईंहरूको साथ नै हाम्रो ताकत हो। निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कमजोर भएको छैन,” उनले उल्लेख गरेका छन्।

ओलीले आगामी दिनमा पनि एमाले जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ,” उनले भनेका छन्। साथै मत दिनुहुने, साथ दिनुहुने र विश्वास राख्नुहुने सबैप्रति उनले हृदयदेखि आभार व्यक्त गरेका छन्।

 

सम्बन्धित समाचारसबै