काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणामपछि नेपाली कांग्रेसभित्र देखिएको नेतृत्व बहसका बीच ललितपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगन थापा लाई पदबाट राजीनामा नदिन आग्रह गरेका छन्।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर परिणाम ल्याएपछि थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने मनस्थिति बनाएको चर्चा भइरहेका बेला ललितपुरका निर्वाचित जनप्रतिनिधिहरूले नेतृत्व निरन्तरताको पक्षमा आवाज उठाएका हुन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस बाट निर्वाचित ललितपुरका नगरप्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व पार्टीका लागि आवश्यक रहेको बताएका छन्।
विज्ञप्तिमा कांग्रेसको ऐतिहासिक भूमिका, वर्तमान राजनीतिक चुनौती तथा लोकतन्त्र र राष्ट्रियताको संरक्षणका लागि प्रभावकारी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै थापा पार्टीको नेतृत्वका लागि उपयुक्त व्यक्तित्व भएको जनाइएको छ। साथै हाल चर्चामा रहेको राजीनामाको विषयलाई अस्वीकार गर्दै पार्टी सुदृढीकरणका लागि नेतृत्वको निरन्तरता अपरिहार्य रहेको उनीहरूको भनाइ छ।
थापालाई समर्थन जनाउने जनप्रतिनिधिहरूमा ऋषिदेव फुयाँल तथा चिरीबाबु महर्जन लगायतका स्थानीय जनप्रतिनिधिहरू रहेका छन्।
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही जिल्ला क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थापा अमरेशकुमार सिंह सँग पराजित भएका थिए। उक्त निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट मात्र जितेको थियो।
विशेष महाधिवेशन सम्पन्न भएको करिब ५० दिनपछि भएको निर्वाचनमा कांग्रेसले अपेक्षा गरेभन्दा कम सिट ल्याएको भन्दै पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट नेताहरूले थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने माग उठाउँदै आएका छन्।
यसबीच केही दिनअघि थापाले पार्टी उपसभापति विश्वप्रकाश शर्मा सँगको छलफलमा निर्वाचन परिणामको जिम्मेवारी लिँदै राजीनामा दिने सम्भावनाबारे संकेत गरेका थिए। तर उपसभापति शर्माले भने अहिलेको अवस्थामा राजीनामा नदिन सुझाव दिएको बताइएको छ।