काठमाडौं। इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गरेपछि विश्व ऊर्जा बजारमा तीव्र दबाब देखा परेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोका साझेदार राष्ट्रहरू र चीनलाई उक्त जलमार्ग पुनः सञ्चालनमा ल्याउन सहयोग गर्न आग्रह गरेका छन्।
अमेरिका, इजरायलसँग जारी द्वन्द्वको प्रतिउत्तरस्वरूप इरानले खाडी क्षेत्रको प्रमुख जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ४०\५० प्रतिशतसम्म उक्लिएको छ। युद्ध तेस्रो हप्तामा प्रवेश गर्दा सोमबार कच्चा तेलको मूल्य करिब १०० डलर नजिक पुगेको देखिएको छ। इजरायलले इरानभित्र अझै ‘हजारौं लक्ष्य’ रहेको दाबी गर्दै दैनिक रूपमा नयाँ लक्ष्य पहिचान गरिरहेको जनाएको छ।
ट्रम्पले भने, संयुक्त राज्य अमेरिका इरानसँग वार्तामा भए पनि तत्काल युद्ध अन्त्य गर्ने अवस्थामा नदेखिएको छ। “मलाई लाग्दैन उनीहरू अहिले तयार छन्, तर निकै नजिक आइपुगेका छन्,” उहाँले थप्नुभयो। इरानका विदेशमन्त्रीले यसअघि वासिङ्टनसँग कुनै वार्ता अस्वीकार गरेको बताएका थिए।
अमेरिकी राष्ट्रपतिले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई स्ट्रेट अफ होर्मुज हुँदै जाने तेल ट्याङ्करहरूको सुरक्षा सुनिश्चित गर्न नौसैनिक जहाज पठाउन आग्रह गरेका छन्। उहाँले स्ट्रेट अफ होर्मुजबाट लाभ लिने देशहरूले यस क्षेत्रमा कुनै अप्रिय घटना हुन नदिन सहयोग गर्नुपर्ने बताए।
यदि चीनले सहयोग नगरेमा आगामी शिखर सम्मेलन स्थगित हुन सक्ने चेतावनी पनि ट्रम्पले दिएका छन्। यद्यपि जापान र अस्ट्रेलियाले अहिलेका लागि सैनिक तैनाथ गर्ने योजना नरहेको स्पष्ट पारेका छन्।
यसैबीच, इरानले अन्य देशहरूलाई मध्यपूर्वमा फैलिएको युद्धमा प्रत्यक्ष रूपमा संलग्न नहुन चेतावनी दिएको छ। फ्रान्सका विदेशमन्त्रीसँगको टेलिफोन संवादमा इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी सैन्य उपस्थितिले समस्या समाधान गर्न नसक्ने र तनाव बढाउने आरोप लगाएका छन्।
इरानले अमेरिकी सेना रहेको मध्यपूर्वका विभिन्न स्थानमा आक्रमण तीव्र बनाएको छ। इटालीको सेनाले कुवेतस्थित अली अल सलेम एयरबेसमा भएको ड्रोन आक्रमणमा आफ्नो मानवरहित विमान नष्ट भएको तर मानवीय क्षति नभएको जनाएको छ। इराकी अधिकारीहरूका अनुसार बगदाद अन्तर्राष्ट्रिय विमानस्थल नजिक रकेट प्रहार हुँदा पाँच जना घाइते भएका छन्।
इरानको रिभोलुसनरी गार्ड्सले हालसम्म अमेरिका र इजरायलसँग सम्बन्धित लक्ष्यहरूतर्फ करिब ७०० मिसाइल र ३,६०० ड्रोन प्रहार गरिएको दाबी गरेको छ। साउदी अरेबियाले पनि ६० भन्दा बढी ड्रोन रोकिएको जनाएको छ। दुबई विमानस्थल नजिक ड्रोन आक्रमणपछि आगलागी हुँदा उडान केही समयका लागि स्थगित गरिएको थियो।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले इराकको कुर्दिस्तानमा इरानी डिजाइनको ड्रोन आक्रमणमा फ्रान्सेली सैनिक मारिएपछि फ्रान्सका हितमाथि भएको आक्रमण अस्वीकार्य भएको बताएका छन्। द्वन्द्व लेबनानसम्म फैलिएको देखिएको छ भने इजरायलले बेरुतको दक्षिणी उपनगरमा नयाँ हवाई आक्रमण सुरु गरेको जनाएको छ।
ऊर्जा बजारमा आपूर्ति संकट टार्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट करिब ४० करोड ब्यारेल तेल बजारमा पठाउने निर्णय गरेको छ। एसिया,ओसिनिया क्षेत्रका देशहरूले तत्काल भण्डार उपलब्ध गराउनेछन् भने युरोप र अमेरिका आगामी हप्तामा पछि लाग्ने अपेक्षा गरिएको छ।
तेलमा ९५ प्रतिशत निर्भर रहेको जापानले सरकारी राजपत्रमार्फत देशको तेल भण्डार घट्दै गएको जानकारी दिएको छ। अस्ट्रेलियाका अधिकारीहरूले मूल्य वृद्धि र हडबडाहटमा किनमेल नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। भारतमा आयात अवरोधका कारण रेस्टुरेन्टहरूले खाना पकाउने ग्यास बचत गर्न मेनु परिवर्तन गर्न थालेका छन्।
तेहरानमा जीवन क्रमशः सामान्य बन्दै गएको देखिएको छ। सहरमा यातायात चहलपहल बढेको छ, क्याफे र रेस्टुरेन्ट पुनः सञ्चालनमा आएका छन्। फारसी नयाँ वर्ष नौरुज नजिकिँदै गर्दा लोकप्रिय ताजरिश बजारका स्टलहरू खुल्न थालेका छन्।
इरानी स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिकी र इजरायल आक्रमणबाट हालसम्म १,२०० भन्दा बढीको मृत्यु भएको छ भने करिब ३२ लाख मानिस विस्थापित भएका छन्।