गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत पर्ने छल्दीटारी र पालुखा जोड्ने झोलुंगे पुल निर्धारित समयभन्दा पाँच महिनाअगावै निर्माण सम्पन्न भएको छ। समयअघि नै पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासीमा उत्साह र खुसी छाएको छ।
सडक पूर्वाधार विकास कार्यालय, तम्घासमार्फत निर्माण गरिएको १४६ मिटर लामो सस्पेन्सन (एन–टाइप) पुल आस्था सम्झना जेभी, अर्घाखाँचीले निर्माण गरेको हो। उक्त पुल निर्माणका लागि रु १ करोड ७१ लाख ८४ हजार ४६० बजेट विनियोजन गरिएको थियो।
निर्माण व्यवसायीसँग २०८२ भदौ ३ गते सम्झौता गरिएको थियो भने २०८३ भदौ ३ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर निर्माण कम्पनीले निर्धारित समयभन्दा अगावै काम सम्पन्न गरेपछि स्थानीयले राहत महसुस गरेका छन्।
वर्षायाममा खोलामा बाढी आउँदा स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थी, बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरूलाई आवतजावतमा निकै कठिनाइ भोग्नुपर्ने अवस्था थियो। पुल अभावमा वर्षात्को समयमा कतिपय विद्यार्थी विद्यालय जानबाट समेत वञ्चित हुने गरेका थिए।
स्थानीय यमबहादुर थापाका अनुसार पुल नहुँदा खोला तर्न जोखिम मोल्नुपर्ने र लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। “अब पुल सञ्चालनमा आएपछि करिब आधा घण्टाको दूरी पाँच मिनेटमै छोटिएको छ,” उनले बताए।
त्यस्तै, स्थानीय रामलाल घिमिरेका अनुसार पुल सञ्चालनमा आएपछि विद्यालय तथा स्वास्थ्य सेवा लिन जान सहज भएको छ। साथै, व्यापारिक गतिविधिमा समेत चहलपहल बढ्ने अपेक्षा गरिएको छ।
लामो समयदेखि त्यस क्षेत्रका बासिन्दाले राजनीतिक दलहरूसँग झोलुंगे पुल निर्माणको माग गर्दै आएका थिए। ढिलै भए पनि माग पूरा भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन्।
उक्त पुलले वारिपारिका दुई बस्तीलाई जोड्ने मात्र नभई त्यस क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। पुल सञ्चालनमा आएसँगै स्थानीयको दैनिकी सहज बन्नुका साथै समग्र क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।