सरकारी कार्यालयको नयाँ समय तालिका, सोमबारदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म सेवा

0 Shares

काठमाडौं । नेपाल सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूको कार्यसमय परिवर्तन गर्दै आज (सोमबार)देखि नयाँ समय तालिका लागू गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै कार्यान्वयनमा ल्याएको हो । नयाँ व्यवस्थाअनुसार अबदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुनेछन् ।

सरकारले यो व्यवस्था सोमबारदेखि नै लागू भएको जनाएको छ । साथै, कार्यालयहरूमा शनिबार र आइतबार साप्ताहिक बिदा रहने निर्णय पनि कायम गरिएको छ ।

सरकारले कार्यसमय निर्धारण गर्दा मौसमी अवस्थालाई समेत ध्यानमा राखेको जनाएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय घटाएर बिहान ९ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कायम गरिनेछ । चिसो मौसममा सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताइएको छ ।

सरकारको यो निर्णयले सरकारी सेवा प्रवाहमा एकरूपता ल्याउने अपेक्षा गरिएको छ । लामो समयदेखि विभिन्न सरकारी निकायमा फरक–फरक समय तालिका हुँदा सेवाग्राहीलाई झन्झट हुने गुनासो आइरहेको थियो ।

नयाँ समय तालिका लागू भएसँगै देशभरका सरकारी कार्यालयहरूमा एउटै कार्यसमय कायम हुने भएकाले सेवा लिन आउने नागरिकलाई सहज हुने विश्वास सरकारको छ ।

सम्बन्धित समाचारसबै