काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग निर्वाचन क्षेत्र, प्रदेश तथा राष्ट्रिय मुद्दामाथि छलफल गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको बैठकमा प्रदेशको विकास निर्माण, भौतिक पूर्वाधार, सडक तथा यातायातलगायत विषयमा तत्कालीन र दीर्घकालीन योजनाबारे सुझाव संकलन गरिएको जनाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्यका अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका विकास आयोजना र तत्काल कार्यान्वयन गर्नुपर्ने योजनाबारे विस्तृत छलफल भएको थियो। बैठकमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र राष्ट्रिय सन्दर्भका विषयमा सुझाव प्रस्तुत गरेका थिए। ती सुझावहरू सरकारलाई लिखित रूपमा समेत उपलब्ध गराइएको आचार्यले जानकारी दिए।
छलफलका क्रममा कृषि, शिक्षा र स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धि, गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा थप विकास गर्ने, तथा समग्र आर्थिक गतिविधि सुदृढ बनाउने विषयमा पनि विचार–विमर्श भएको बताइएको छ।
त्यसैगरी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान को सेवा सुदृढीकरण गर्ने लगायत नागरिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयहरू पनि बैठकमा उठाइएको थियो।
सांसद आचार्यका अनुसार बैठकमा प्रस्तुत सुझावहरूप्रति प्रधानमन्त्रीले समग्र रूपमा प्रतिक्रिया जनाउँदै लुम्बिनी प्रदेशसँग सम्बन्धित विषयहरूमा राज्य संयन्त्रमार्फत आवश्यक निर्णय लिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूको सहभागिता रहेको थियो। पूर्वमन्त्री तथा नेकपा नेता वर्षमान पुन ले चालु आर्थिक वर्षभित्र प्रदेशका विकास आयोजना सम्पन्न गर्न र आगामी आर्थिक वर्षका लागि नयाँ योजनाहरूलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका थिए।
उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक रहेको, रणनीतिक सडकहरूको निर्माण तथा स्तरोन्नति गर्नुपर्ने र आर्थिक विकाससँग सम्बन्धित परियोजनाहरू योजनाबद्ध रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।