बीमा बोर्ड नियुक्ति विवाद: मन्त्री पत्नी जुनु श्रेष्ठको प्रष्टीकरण, मनोनयन पत्र बुझेकी छैन

0 Shares

काठमाडौं । श्रम तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठले स्वास्थ्य बीमा बोर्डमा आफ्नो पुनर्नियुक्तिसम्बन्धी सार्वजनिक भइरहेका समाचारप्रति आपत्ति जनाउँदै आफूले मनोनयनसम्बन्धी कुनै पनि पत्र नबुझेको प्रष्टीकरण दिएकी छन्।

स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त गरिएको विषय सार्वजनिक भएपछि विवाद बढ्दै गएपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। उनले फेसबुकमा लेखेकी छन्, “स्वास्थ्य बीमा बोर्ड सदस्य सम्बन्धी आइरहेको खबरसँग मेरो कुनै सम्बन्ध छैन र मैले मनोनयनसम्बन्धी कुनै पत्र पनि बुझेकी छैन।”

यसअघि पनि बोर्ड सदस्य रहेकी श्रेष्ठ लगातार बैठकमा अनुपस्थित भएपछि स्वतः निलम्बनमा परेकी थिइन्। निलम्बनमा परेकी उनलाई पुनः सोही पदमा नियुक्त गरिएको खबर बाहिरिएपछि राजनीतिक वृत्तमा आलोचना सुरु भएको थियो।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस विषयलाई लिएर परिवारवाद र योग्यता (मेरिट) को सवाल उठाएको थियो। मन्त्रीको निकट सम्बन्धित व्यक्तिलाई पुनः नियुक्त गरिएको विषयले पारदर्शिता र प्रक्रियामाथि प्रश्न खडा भएको टिप्पणी हुँदै आएको छ।

उल्लेखनीय रूपमा, श्रेष्ठको पछिल्लो नियुक्ति २०८० मंसिर १४ गते भएको थियो। उनले बीमित सदस्यको प्रतिनिधिको रूपमा स्वास्थ्य बीमा बोर्डमा भूमिका निर्वाह गर्दै आएकी थिइन्।

सम्बन्धित समाचारसबै