एकता संरक्षणमा नेपाली सेना सधैं अग्रसर: अशोकराज सिग्देल

0 Shares

तनहुँ । अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैं अग्रसर रहेको बताएका छन्। उनले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको संरक्षणमा ऐतिहासिककालदेखि नै महत्वपूर्ण र अतुलनीय योगदान पुर्‍याउँदै आएको उल्लेख गरे।

आज तनहुँमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले नेपाली सेनाको भूमिका केवल सुरक्षा क्षेत्रमा सीमित नभई राष्ट्रिय एकताको सुदृढीकरणमा समेत महत्वपूर्ण रहेको बताए। उनले सेनाले आफ्नो गौरवशाली इतिहास र परम्परालाई कायम राख्दै वर्तमान र भविष्यका चुनौतीहरू सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा आफूलाई विकास गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार देशको सार्वभौमिकताको रक्षा गर्नुका साथै आन्तरिक सुरक्षा व्यवस्थापन, विकास निर्माणका कार्य, विपद् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ। यिनै योगदानका कारण नेपाली सेना स्वदेश मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि विश्वसनीय र सम्मानित संस्थाका रूपमा स्थापित भएको उनले बताए।

कार्यक्रममा प्रधानसेनापति सिग्देलले नेपाली सेनाको कल्याणकारी बोर्डमार्फत सञ्चालित कार्यक्रमहरूको विषयमा पनि प्रकाश पारे। उनले लाभग्राहीलाई एउटै छानामुनि सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न सञ्जालहरूको निर्माण तथा विस्तार भइरहेको जानकारी दिए।

तर, पछिल्लो समय समग्र आर्थिक क्षेत्रमा आएको सङ्कुचन र सुस्तताले यस्ता कल्याणकारी कार्यक्रमहरू सञ्चालन गर्न चुनौती थपिएको उनको भनाइ थियो। विशेषगरी बैंकिङ क्षेत्रमा देखिएको दबाब, मुद्धती निक्षेपको ब्याजदरबाट हुने आम्दानीमा आएको गिरावट तथा अन्तरराष्ट्रिय शान्ति स्थापनामा खटिने नेपाली फौजको सङ्ख्यामा भएको कटौतीले कल्याणकारी कोषको दिगोपनामा असर पारेको उनले उल्लेख गरे।

प्रधानसेनापति सिग्देलले यस्ता चुनौतीका बाबजुद नेपाली सेना आफ्नो दायित्वप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै भविष्यमा पनि राष्ट्रहित, एकता र स्थायित्वका लागि निरन्तर अग्रसर रहने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचारसबै