सात वर्ष कैद सजाय पाएका फरार अभियुक्त विराटनगरबाट पक्राउ

0 Shares

विराटनगर । लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर–१५ का ५२ वर्षीय अरुण थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उनलाई शनिबार विराटनगर–३ स्थित फुटबल चोकबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार काठमाडौँ जिल्ला अदालतले २०७६ फागुन २२ गतेको फैसलामा थापालाई लागूऔषध मुद्दामा सात वर्ष कैद र पाँच लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सजाय भुक्तानका क्रममा उनी जगन्नाथदेवल कारागार, काठमाडौँमा राखिएका थिए। तर, जेएनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए।

फरार भएपछि थापा विराटनगर क्षेत्रमा लुकिछिपी बस्दै आएका थिए। विशेष सूचनाका आधारमा उनको खोजी गर्दै आएको प्रहरीले अन्ततः उनलाई पक्राउ गर्न सफल भएको हो।

मोरङका प्रहरी प्रवक्ता लिलाराज लामिछानेका अनुसार पक्राउ परेका थापालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय भुक्तानका लागि अदालतमा बुझाउने तयारी भइरहेको छ।

सम्बन्धित समाचारसबै