काठमाण्डौ । मधेशको मिथिला क्षेत्रमा आज पारम्परिक रूपमा जुडशीतल पर्व मनाइँदैछ। नयाँ वर्षको अवसरसँगै मनाइने यो विशेष पर्व अन्तर्गत पहिलो दिन ‘सतुवाइन’ र दोस्रो दिन ‘जुडशीतल’ मनाउने प्रचलन रहेको छ।
जुडशीतल पर्वमा कूल देवताको पूजा गर्ने परम्परा रहेको छ। नयाँ वर्ष सुरु भएसँगै गर्मी बढ्न थालेपछि जीवनमा शीतलता, स्वास्थ्य र समृद्धिको कामना गर्दै यो पर्व मनाउने गरिन्छ। महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण कर्णका अनुसार जुडशीतल पर्वले मानिसलाई प्रकृतिसँग नजिक राख्दै जीवनमा सन्तुलन र शान्तिको सन्देश दिन्छ।
यस पर्वको मुख्य विशेषता परिवारभित्रको आपसी माया र सम्मानलाई मजबुत बनाउनु हो। परम्पराअनुसार परिवारका ज्येष्ठ सदस्यले साना सदस्यको टाउकोमा चिसो पानी राखेर आशीर्वाद दिने चलन छ। यसले गर्मी मौसममा शारीरिक र मानसिक शीतलताको प्रतीकात्मक सन्देश दिने विश्वास गरिन्छ।
जुडशीतल पर्व प्रकृति र स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको छ। यस अवसरमा गाउँघरका इनार, कुवा लगायतका पानीका स्रोतहरूको सरसफाइ तथा मर्मतसम्भार गर्ने परम्परा पनि रहेको छ, जसले स्वच्छ पानीको उपयोग र स्वास्थ्य संरक्षणमा सहयोग पुर्याउँछ।
यसैबीच, थारु समुदायले पनि यही समयलाई ‘सिरूवा’ पर्वका रूपमा मनाउने गरेका छन्। उनीहरूले पनि प्रकृतिसँग सामीप्य राख्दै आपसी सद्भाव र सामुदायिक एकतालाई सुदृढ बनाउने विभिन्न गतिविधि गर्ने गर्छन्।
परम्परा, संस्कृति र प्रकृतिप्रतिको सम्मान झल्काउने जुडशीतल पर्वले समाजमा शीतलता, सद्भाव र स्वास्थ्यको सन्देश फैलाउँदै आएको छ।