फुटपाथ कब्जामाथि विराटनगर महानगरको कडाइ, बजार क्षेत्रबाट सामग्री हटाइँदै ||

0 Shares

विराटनगर, ११ वैशाख — विराटनगर महानगरपालिकाले बजार क्षेत्रको फुटपाथ अतिक्रमणविरुद्ध औपचारिक अभियान सुरु गरेको छ। शुक्रबार बिहान उपप्रमुख शिल्पा निरला कार्कीको नेतृत्वमा खटिएको टोलीले नगर प्रहरी र नेपाल प्रहरीको सहकार्यमा फुटपाथमा राखिएका अवरोध हटाउन थालेको हो।

महानगरले यसअघि दुई दिनसम्म माइकिङमार्फत व्यवसायी तथा सर्वसाधारणलाई सचेत गराउँदै सडकपेटी खाली गर्न आग्रह गरेको थियो। सोही अनुरूप अब प्रत्यक्ष रूपमा अतिक्रमण हटाउने काम अघि बढाइएको जनाइएको छ।

अभियानअन्तर्गत पसलको सटर बाहिर राखिएका व्यापारिक सामग्री हटाइँदैछ भने सडकपेटीमा निर्माण सामग्री थुपार्ने, मोटरसाइकल ग्यारेजका उपकरण राख्ने तथा मापदण्डविपरीत सञ्चालन भइरहेका कवाडी व्यवसायमाथि समेत नियन्त्रण गरिनेछ।

महानगरपालिकाले सार्वजनिक स्थानलाई व्यवस्थित, सुरक्षित र पैदलयात्रीमैत्री बनाउन यस्तो अभियान आवश्यक रहेको बताएको छ। साथै, नियम उल्लङ्घन गर्नेहरूमाथि आगामी दिनमा थप कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।

सम्बन्धित समाचारसबै