काठमाडौं |जलविद्युत् तथा सौर्य ऊर्जाका क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान गरिएको छ ।
भारतस्थित नेपाली राजदूतावास र इन्डियन फेडरेशन अफ ग्रीन इनर्जीको आयोजना नयाँदिल्लीमा आयोजित नेपाल–भारत इनर्जी समिटका अवसरमा लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी रहेको भन्दै ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरिएको हो ।
‘जलविद्युत र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीका अवसरहरूको खोजी’ शीर्षकमा आयोजित सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले सरकारको २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन लक्ष्य प्राप्त गर्न मन्त्रालयले आवश्यक नीतिगत सहजीकरण गर्ने उल्लेख गर्दै भारतीय लगानीकर्ताहरूलाई निर्धक्क नेपालमा लगानी गर्न आग्रह गर्नुभयाे।
नेपाल र भारतबीच ४०० केभी क्षमताको एक प्रसारण लाइन सञ्चालन रहेका तथा थप दुई लाइन निर्माणाधीन रहेको उल्लेख गर्दै विद्युत उत्पादन र व्यापारका लागि आवश्यक पूर्वाधार तयार भइसकेको उहाँको भनाइ थियो । त्यस्तै नेपालको जलविद्युत नीति लगानीकर्ताहरूको सुरक्षाका लागि अनुकूल र उत्कृष्ट रहेको भन्दै उहाँले भारतीय लगानीकर्ताहरूलाई जलविद्युत तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीको अवसर उपयोग गर्न आह्वान गर्नुभयो ।