काठमाडौं-भारतीय बाटो प्रयोग गरी अरब देशहरूमा जान लागेका केही नेपाली नागरिकहरू “नक्कली कागजपत्र बनाएको” आरोपमा भारतीय विमानस्थलहरूमा पक्राउ पर्न थालेपछि नेपाली अधिकारीहरूले त्यस्ता आपराधिक गतिविधि नगर्न नेपाली नागरिकहरूलाई आग्रह गरेका छन्।
विगतका केही साताहरूमा भारतको राजधानी दिल्ली र मुम्बईस्थित अन्तर्राष्ट्रिय विमानस्थल तथा भारतका अन्य क्षेत्रबाट समेत केही नेपालीहरू पक्राउ परेको विवरण आएका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुम्बईको अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन अधिकारीहरूले गत साता मात्र १० जना नेपाली नागरिकहरूलाई त्यस्तो आरोपमा पक्राउ गरेको जनाएका छन्।
विशेषगरी वैदेशिक रोजगारीका लागि विभिन्न अरब देशहरू जान चाहने नेपालीहरू भारतीय भूमिमा पक्राउ परिरहेको अधिकारीहरू बताउँछन्।
नेपाली श्रम अधिकारीहरूले “यसरी पक्राउ पर्ने अवस्था आउन नदिन” वैदेशिक रोजगारीमा जान चाहने नागरिकहरूलाई आग्रह गरेका छन्।