इतिहासकै सबैभन्दा ठूलो डेटा चुहावट: १६ अर्ब लगइन प्रमाण सार्वजनिक, फेसबुकदेखि एप्पलसम्मका प्रयोगकर्ता प्रभावित

0 Shares

काठमाडौँ — सुरक्षा अनुसन्धानकर्ताहरूले हालै एक अभूतपूर्व डेटा उल्लंघनको पर्दाफास गरेका छन्, जसमा ३० वटा डाटाबेसहरूमा जम्मा १६ अर्ब लगइन प्रमाणहरू समावेश गरिएको पाइएको छ।

साइबर सुरक्षा संस्था Cybernews का अनुसन्धानकर्ताहरूले जनवरी २०२५ देखि चलिरहेको एक अध्ययनक्रममा यस्तो डर लाग्दो तथ्य फेला पारेका हुन्।

उक्त चुहावटले फेसबुक, इन्स्टाग्राम, जीमेल, एप्पल लगायत अनगिन्ती प्रमुख प्लेटफर्महरूका प्रयोगकर्तालाई प्रत्यक्ष असर पुर्‍याउने सम्भावना देखिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार यो इन्टरनेटको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रमाण चुहावट हो।

यी चोरी गरिएका डाटाहरू संकलन गरिएको विशाल भण्डार असुरक्षित डाटाबेसहरूमा केही समयका लागि सार्वजनिक रूपमा पहुँचयोग्य थियो। यद्यपि अनुसन्धानकर्ताहरूले ती डाटाबेसहरूका मालिकहरू पहिचान गर्न सकेका छैनन्। झन् चिन्ताजनक कुरा त के छ भने, यीमध्ये धेरैजसो डाटासेटहरू पहिले कहिल्यै सार्वजनिक रूपमा रिपोर्ट नगरिएका थिए।

यसअघि मे महिनामा मात्र Wired पत्रिकाले १८ अर्ब ४० करोड रेकर्ड भएको एउटा डाटाबेसको जानकारी दिएको थियो, जुन यसपटक सार्वजनिक भएको जानकारीको तुलनामा निकै सानो देखिन्छ।

साइबर सुरक्षा विशेषज्ञहरूले प्रयोगकर्ताहरूलाई आफ्नो इमेल र पासवर्डहरू जाँच गर्न, दुई तहको प्रमाणीकरण (2FA) प्रयोग गर्न, र पासवर्डहरू तुरुन्तै परिवर्तन गर्न सुझाव दिएका छन्।

यो डेटा चुहावटको असर के कति गम्भीर हुन्छ भन्ने कुरा अझै अनुसन्धानको क्रममा रहेको भए पनि, यो घटनाले साइबर सुरक्षाको खतरनाक अवस्थालाई फेरि एकपटक उजागर गरेको छ।

सम्बन्धित समाचारसबै