असन्तुष्ट जेन-जी सडकमा देखिए पनि त्यसलाई प्रतिगामीहरुले आफ्नो स्वार्थमा प्रयोग गरेको माओवादी अध्यक्ष दाहालको दाबी

0 Shares

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जेन-जी आन्दोलनमा भएको तोडफोड, लुटपाट र आगजनीका साथै राजनीतिक व्यक्तित्वहरुमाथि भौतिक आक्रमण हुने कुरा पूर्णत नियोजित र योजनाबद्ध भएको बताएका छन् ।

उनले यस्ता घटनाहरु जेन–जी आन्दोलनकारीबाट नभएको भन्दै अरु कसैले गरेको समेत दाबी गरेका छन् । उनले जेन-जीहरुको आन्दोलनलाई प्रतिगामीहरुले आफ्नो स्वार्थमा प्रयोग गरेको दाबीसमेत गरेका छन् । तर त्यसलाई पुष्टि हुने आधारहरु भने विस्तृतमा पेस गरेका छैनन् । केन्द्रीय समितिको बैठकमा राजनीतिक तथा संगठनात्मक प्रस्ताव पेस गर्दै उनले यस्तो बताएका हुन् ।

केन्द्रीय समितिमा पेस गरेको प्रस्तावनामा उनले जेन-जी विद्रोह अघिको सरकारको भूमिका र त्यसपछि विकसित घटनाक्रमबारे विभिन्न धारणाहरु समेटेका छन् । दाहालले पेस गरेको प्रस्तावमा समेटिएका मुख्य पाँच बुँदा यस्ता छन् :

१) दाहालले माओवादीले उठाएका मुद्दाहरुमा राष्ट्रिय राजनीति केन्द्रीत भएको दाबी गर्दै माओवादी माथी नै किन प्रहार भयो भनेर प्रश्न गरेका छन् । उनले जेन जी आन्दोलनपछि बनेको गैरदलिय सरकारबाट केही संकटहरु निम्तिन सक्ने समेत बताएका छन् । उनले पेश गरेको प्रस्तावमा लेखिएको छ, जेन–जी आन्दोलनपछि गैरदलीय सरकार बनेपनि हाम्रा उपलब्धीहरु माथिको संकट भने टरेको छैन । बिभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई भ्रष्टाचार छानवीनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थ सिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरु बााकी नै रहेका छन् ।

२) दाहालले जेन जी विद्रोह एमाले नेतृत्वको दुइ तिहाइको सरकारले गरेका कामहरुको परिणाम भएको दाबी गरेका छन् । त्यस्तै उनले आन्दोलनका नाममा सरकारी सम्पत्तीमाथी भएको आक्रमण नियोजित भएको समेत बताएका छन् । उनले पेश गरेको प्रस्तावमा लेखिएको छ, भदौ २४ गते राष्ट्रपति भवन, व्यवस्थापिका संसद, सर्वोच्च अदालत, सिंहदरबार जस्ता देशकै ऐतिहासिक सम्पदाका साथै सयौं सार्वजनिक कार्यालय, लोकतान्त्रिक दलका नेताहरुका निवास, बैंक, वित्तिय संस्था, मिडिया तथा व्यावसायमा भीषण आगजनी, लूटपाट, तोडफोड गरिनुका साथै भौतिकरुपमा समेत आक्रमण गरियो र राष्ट्रले अकल्पनीय क्षति बेहोर्नुपर्‍यो । एउटा कुरा के प्रष्ट छ भने आन्दोलनमा तोडफोड, लूटपाट र आगजनीका साथै राजनीतिक व्यक्तित्वहरुमाथि भौतिक आक्रमण हुने कुरा पूर्णत नियोजित र योजनावद्ध थियो । उनले जेन -जी आन्दोलनका नाममा घुसपैठ भएको पनि बताएका छन् । उनले पेश गरेको प्रस्तावमा लेखिएको छ, उनीहरुले जेन जीको आवरणमा व्यवस्थाविरोधी विध्वंश गर्न सकिन्छ भन्ने रणनीति तयार गरे । फलस्वरुप प्रकटमा सरकारका गतिविधिबाट असन्तुष्ट जेनजीहरु सडकमा देखिएका भएपनि त्यसलाई प्रतिगामीहरुले आफ्नो स्वार्थमा प्रयोग गरे । यस कार्यमा देशी–विदेशी अन्य शक्तिकेन्द्रहरु समेत परिचालित भए ।

सम्बन्धित समाचारसबै