राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बहिष्कार गर्दै महामन्त्रीद्वय धवल शम्शेर र कुन्तिकुमारी

0 Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक महामन्त्रीद्वय धवल शम्शेर राणा र कुन्तिकुमारी शाहीले बहिष्कार गर्ने भएका छन्।

आफूहरूले केन्द्रीय कार्यसम्पादन समिति बैठक बहिष्कार गर्ने जानकारीसहितको पत्र उनीहरूले आज अध्यक्ष राजेन्द्र लिङ्देनलाई पठाएको पार्टी सचिवालय स्रोतले जनाएको छ।

उक्त पत्रमा महामन्त्रीद्वयले ४ वटा प्रस्ताव पनि अघि सारेका छन्।

पहिलो, विधानबमोजिम महाधिवेशन सम्पन्न गर्न महाधिवेशनको मिति तोक्ने।

दोस्रो, विधानविपरित भएका निष्कासन र कारबाहीसम्बन्धी निर्णय फिर्ता गर्ने।

तेस्रो, निष्पक्ष र सरल रुपमा महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्ने।

चौथो, प्रभावकारी पार्टी संचालनका निम्ति दुई पूर्वअध्यक्षहरू सहितको विवाद समाधान समिति गठन गर्ने।

उनीहरूले पार्टीभित्र आन्तरिक एकता जरूरी रहेको पनि पत्रमा उल्लेख गरेका छन्।

‘पार्टीभित्र हामीबीच आन्तरिक एकता अत्यन्त जरूरी छ। पार्टीको प्रभावकारिता ध्यानमा लिएर, एकताका निम्ति हरसम्भव हामी प्रयासरत छौं। अध्यक्ष र दुई पूर्वअध्यक्षहरू समेतको उपस्थितिमा हामीले छलफल र समाधानका प्रयास गर्‍यौं। तर, हाम्रो सदासयतालाई कमजोरी ठानियो र पार्टी भित्रका अवैधानिक गतिविधि सच्याउने इमान्दार प्रयास भएको देखिएन,’ महामन्त्रीद्वयले अध्यक्ष लिङ्देनलाई पठाएको पत्रमा उल्लेख छ, ‘यसै सन्दर्भमा कार्यसम्पादन समितिको आजको बैठक हामीले बहिष्कार गरेका छौं।’

उनीहरूले अध्यक्षबाट केन्द्रीय सदस्य थप्दै जाँदा पनि विगतमा आफूहरू चुप लागेको बसेको पनि उल्लेख गरेका छन्।

‘४३ विभागमध्ये अधिकांश निस्क्रिय राख्दा पनि आन्तरिक एकतामा असर नपुगोस् भनेर अध्यक्षको निर्णयबारे सार्वजनिक तहमा बोलेनौं,’ उनीहरूले भनेका छन्।

पार्टीमा विधिको सम्मान गर्न सचेत गराउने र हर किसिमको सहयोग गरे पनि अध्यक्षबाहेक अरू कसैको अस्तित्व नरहने स्थिति निर्माण गरिएको उनीहरूको भनाइ छ।

‘पार्टी स्थापनाकालदेखि काम गरेका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई फेसबुकमा सूचना दिएर विधानको प्रावधान खुल्लमखुल्ला उल्लंघन गर्दै बेइज्जतीपूर्ण तरिकाले निष्कासन गरियो। अब त हुँदाहुँदा पार्टीमा विधानविपरित कारबाही र निष्कासनका लामो सूची नै बनेको छ,’ अध्यक्ष लिङ्देनले गरेको कारबाहीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले भनेका छन्।

यस्ता क्रियाकलापका कारण पार्टी र जनता बीचको सम्बन्ध कमजोर हुँदै गएको निष्कर्ष महामन्त्रीद्वयको छ।

देशको समग्र राजनीतिमा राप्रपाको प्रभाव र उपस्थिति कमजोर हुन थालेको उनीहरूले बताएका छन्।

जेनजी पुस्ताको सक्रियतामा भएको भदौ २३ र २४ को परिवर्तनका ठूला श्रृङ्खलामा राप्रपा अस्तित्व र भूमिकामा नदेखिएको पनि उनीहरूले बताएका छन्।

राप्रपा अध्यक्ष लिङ्देनले परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्न, स्थानीय तह र जिल्ला अधिवेशनको प्रगति समीक्षा गर्न, सांगठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा छलफल गर्न कार्यसम्पादन समिति बैठक बोलाएका थिए। बैठक आज बिहान ११:३० बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तयारी छ।

महामन्त्रीद्वय राणा र शाहीले असोज २६ गते छुट्टै भेला गरेर मंसिर १८ गतेअघि नै नियमित महाधिवेशन मिति तोक्न माग गर्ने निष्कर्ष निकालेका थिए।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले महामन्त्रीद्वयले पार्टी बैठक बोलाउन सार्वजनिक आह्वान गर्दै आएकोले बैठकमा उपस्थित हुने विश्वास व्यक्त गरे।

‘उहाँहरूले पार्टीका बैठक बोलाउनुपर्छ भनेर सार्वजनिक रूपमा आह्वान गर्दै आउनुभएको थियो, आज बैठक बस्दैछ, उहाँहरू आउनुहोला,’ उनले भने, ‘तर बैठक बहिष्कार गर्नुभयो भने त्यो हाँस्यास्पद हुन्छ, किनभने उहाँहरूले बैठक राख्नुपर्‍यो भन्दै आउनुभएको हो अनि बैठक राख्दा सहभागी नहुने भन्ने त राम्रो देखिँदैन नि!’

साथै उनले पूर्वसर्त राखेर अघि बढ्न नहुने पनि बताए।

‘विभिन्न पूर्वसर्तका कुरा पनि सुनिएका छन्, त्यो साँचो हो भने ती कुरा त बैठकमा छलफल गर्ने होला नि,’ उनले भने, ‘उहाँहरू समस्या पैदा गर्ने र समाधान चाहनु हुन्न भन्ने देखाउँछ। पार्टीलाई कमजोर बनाउने योजनाबद्ध रणनीतिमा उहाँहरू हुनुहुन्छ।’

धवल शम्शेर र कुन्तिकुमारी २०७८ मंसिरमा भएको राप्रपा महाधिवेशनबाट निर्वाचित महामन्त्रीहरू हुन्।

 

सम्बन्धित समाचारसबै