पछिल्लो समय धेरै लोकतान्त्रिक मुलुकहरू जेन–जी विद्रोहको चपेटामा परिरहेका छन्। कतिपय मुलुकमा यो आन्दोलन यतिसम्म घातक बन्यो कि शासकहरूलाई आफ्नो राजकाज र देश छाडेर भाग्नुपर्यो। कतै सम्पूर्ण शासन संरचना नै ध्वस्त भयो भने कतै इतिहासमै नभएको भौतिक विध्वंस सृजना भयो। नेपालमै भदौ २३ र २४ गतेको घटनाले २४ घण्टा नबित्दै राज्यलाई तहसनहस पारिदियो। प्रधानमन्त्री, मन्त्री र प्रमुख दलका केही नेताहरू सुरक्षाकर्मीको हेलिकप्टरमा सुरक्षित ठाउँतिर भाग्न सफल भए तापनि आफ्ना घरभित्रको धन–सम्पत्ति र सुन–चाँदी जोगाउन सकेनन्। सबै आगोमा जलेर खरानी बन्यो। भाग्न नसकेका नेताहरू इतिहासकै कालो पानामा दर्ज भए। अझ दुःखद त के भयो भने आफूसँगै परिवर्तनका महान् सहिदहरूको महत्त्वपूर्ण सालिक र स्थलहरूलाई समेत विध्वंसमा पारेर सहिद–प्रतिष्ठालाई नै कलंकीत पारे। तथापि शासक नेता र दलहरू सचिने मनस्थितिमा देखिँदैन। अहमले अझै पनि चुर छन् ।
केही लोकतान्त्रिक मुलुकको पृष्ठभूमि :
विश्वका करिब १६० भन्दा बढी देशहरू विभिन्न रुपमा लोकतान्त्रिक अभ्यासमा छन्। लोकतन्त्रको इतिहास नियाल्दा विभिन्न देशहरू विभिन्न कालखण्डमा यसमा प्रवेश गरेका थिए। अमेरिका १७७६ मा स्वतन्त्र भएर गणतन्त्रमा अघि बढ्यो। फ्रान्सले १७८९ को क्रान्तिपछि राजतन्त्र अन्त्य गर्यो। भारतले १९४७ मा ब्रिटिश उपनिवेशबाट मुक्त भई लोकतन्त्रलाई संस्थागत गर्यो। जर्मनीमा दोस्रो विश्वयुद्धपछि पश्चिमतर्फ लोकतन्त्र स्थापित भई १९९० मा एकीकरण भयो। दक्षिण अफ्रिकामा १९९४ मा अपार्थाइड अन्त्य भई समान अधिकारसहितको व्यवस्था आयो। नेपालमा २००७ सालको प्रजातान्त्रिक आन्दोलनले सुरुवात गरी २०६५ मा राजतन्त्र अन्त्यसहित संघीय गणतन्त्र घोषणा भयो।
श्रीलंका, बंगलादेश, ब्राजिल, इन्डोनेसिया, फिलिपिन्स जस्ता मुलुकहरूले पनि आफ्नो–आफ्नै यात्राबाट लोकतन्त्रमा प्रवेश गरे। यी सबै मुलुकहरूको साझा मूल्य भनेको नागरिकलाई स्वतन्त्रता, समान अवसर, न्याय र सम्मान सुनिश्चित गर्नु हो। तर पछिल्लो समय यी मूल्य र मान्यताहरू कागजमा मात्र सीमित छन्। व्यवहारमा रोजगारी छैन्, शिक्षा र स्वास्थ्यमा निजी र सरकारी स्तरमै ब्रहमलुट छ। संस्थागतरुपमै बेथिति र भ्रष्टाचार, कुशासन र विभेद व्याप्त छन्। राज्यमा नागरिकको समान पहुँचको ग्यारेन्टी छैन। तहगत विभेदले जडा गाडेका छन्। यही कारणले विशेष गरी नयाँ पुस्ता असन्तुष्ट बनेका छन्।
के हो जेनजी र विद्रोह ?
जेनजी भन्नाले सन् १९९७ देखि २०१२ बीचमा जन्मिएका डिजिटल युगका सन्तानलाई जनाइन्छ। उनीहरू सूचनाप्रविधिप्रति सचेत छन्, विश्वव्यापी संजालसँग जोडिएका छन् र आफ्ना अधिकारप्रति संवेदनशील छन्। उनीहरूको असन्तुष्टि व्यक्त गर्ने तरिका परम्परागत भन्दा फरक छन्। सामाजिक सञ्जालमार्फत उनीहरूले तत्काल प्रतिक्रिया जनाउँछन्, आन्दोलनलाई सजिलै फैलाउँछन् र असमानतालाई अस्वीकार गर्छन्। यही कारण यो विद्रोहलाई कतिपयले जेनजी आतंक भने पनि यो केवल पुस्तागत असन्तोष मात्र नभई शहरीया युवा जनविद्रोह हो। जसको कुनै निश्चित लगाम छैन तर परिवर्तनको उत्कट चाहना भने अवश्य छ।
लोकतान्त्रिक शासकहरूको पछिल्लो चरित्र
शासकहरूको व्यवहार हेर्दा एउटा स्पष्ट प्रवृत्ति देखिन्छ—आशा र वास्तविकता बीचको ठूलो अन्तर। शिक्षित र सूचना-प्रवाहित पुस्ताले शिक्षा, स्वास्थ्य, रोजगारी, पारदर्शिता र समान अवसरको अपेक्षा गर्छन्। तर व्यवहारमा यी पाउँदैनन्। दल र नेताहरूका बारम्बारका वाचा असफल हुँदा युवाको विश्वास टुटिसकेको छ। यसलाई सामाजिक सञ्जालले अझ तीव्र बनाएको छ। यसर्थ जेनजी आन्दोलनको नेतृत्व दल वा नेताहरूले गरेनन्, सामान्य युवाले गरेका छन्, जसले यसलाई सजिलै दबाउन कठिन बनाउँछ। तर नेतृत्व संरचना कमजोर भएकाले लामो समय टिकाउन चुनौतीपूर्ण हुन्छ। यस आन्दोलनको अर्को विशेषता भनेको सांस्कृतिक प्रतीकहरूको प्रयोग हो, जसले आन्दोलनलाई आकर्षक बनाउँछ र जनसांस्कृतिक चेतना जगाउँछ।
यी आन्दोलनका सकारात्मक परिणाम पनि देखिन्छन्। नेपालमा प्रधानमन्त्रीले राजीनामा दिए, बंगलादेशमा सत्ता परिवर्तन भयो, केन्यामा कर सुधार फिर्ता भयो, पेरुमा नयाँ राजनीतिक समीकरण जन्मियो। यसले देखाउँछ कि युवाको आवाजले नीतिगत परिवर्तन सम्भव बनाउँछ। तर नकारात्मक पक्ष पनि छ- हिंसा, विध्वंस, मृत्यु, दमन र मानव अधिकार उल्लङ्घन। समस्या समाधान नभएसम्म नयाँ आन्दोलनहरू जन्मिन सक्छन्। त्यसैले यी विद्रोहलाई आतंक नभई लोकतन्त्र सुधार गर्ने चेतावनीका रूपमा लिनु आवश्यक छ।
जेनजी विद्रोहलाई कसरी बुझ्ने?
मार्क्सले भनेझैं कुनै पनि वस्तुको विकास वा विनाशको कारण भित्री अन्तरवस्तुमा हुन्छ। यसै सन्दर्भमा जेनजी विद्रोहलाई केवल प्रायोजित वा घुसपैठ मान्नु दुर्भाग्यपूर्ण हुन्छ। यद्यपि आंशिक प्रभाव हुन सक्छ। । तर मूल कारण आन्तरिक नै हो। दशकौँदेखि जारी भ्रष्टाचार, बेथिति र असमानताले नागरिकलाई आजित बनाइसकेको थियो। आन्दोलन केवल त्यस असन्तोषको झिल्को मात्र थियो। यसलाई सुनियोजित भन्न मिल्दैन। किनभने सात सयभन्दा बढी स्थानीय तहमा विद्रोहको ज्वाला सल्किनु र सरकारी संरचनामा क्षति पुग्नु कुनै एक क्षणमै सम्भव हुने कुरा होइन। होनहार विद्यार्थीमाथि गोली चल्यो, अर्बौंको सरकारी सम्पत्ति ध्वस्त भयो, धेरै आमाहरूले सन्तान गुमाए र सयौँ परिवार बेसाहारा बने। किनभने विद्रोह पवित्र उद्देश्यसहित सुरु भएको थियो। तर तत्कालीन सरकारले यसलाई हिंस्रक बनायो। त्यसैले यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ। अर्कोतर्फ, परिणामको नैतिक जिम्मेवारी जेनजीले पनि लिनुपर्छ। विगतका हरेक आन्दोलन, क्रान्ति र विद्रोहले देखाइसकेको छ- आफ्नो दायित्व सबैले निर्वाह गर्नुपर्छ। त्यसैले यस विद्रोहलाई दल र नेताहरूले सतर्कता र चेतावनीका रूपमा लिनु आवश्यक छ।
अन्त्यमा
यो विद्रोहलाई धेरैले विदेशी हस्तक्षेप वा सेनाको कमजोरीसँग जोडेर अड्कल गरे पनि वास्तविकता भने सात दशकदेखि दल–नेताको असफलता र नागरिकमाथि निरन्तर थोपारिएको तहगत असन्तोषको विस्फोट हो। सेनाले संरचना जल्न दिएको कमजोरी होइन, बरु नागरिकलाई जोगाउने प्राथमिकताको परिणाम थियो, नभए अझ धेरै ज्यान गुम्ने खतरा रहन्थ्यो। संवैधानिक जटिलता पनि थियो। देश कमजोर अवस्थामा प्रत्यक्ष विदेशी हस्तक्षेप भएको भए अवस्था झनै भयावह हुनेथियो। त्यसैले यस आन्दोलनको मूल कारण राज्यभित्र जरा गाडेर बसेको बेथिति, भ्रष्टाचार, गुटबन्दी, कर्मचारीतन्त्रको अनियमितता, शोषित वर्गको पीडा, वैदेशिक रोजगारीमा हराएका युवाको निराशा, समाजिक संघसंस्थाको नाममा दातृ राष्ट्रको अनुदानमा बिग्रिएको सामाजिक चरित्र र भू–राजनीतिक जटिलता हुन्। यी सबै दबिएका आक्रोश अन्ततः जेन–जी पुस्ताबाट विस्फोट भएर प्रकट भए। अघिल्ला आन्दोलनहरू राजनीतिक उद्देश्यमा सीमित भए पनि यसपटकको आन्दोलन दलीय नेतृत्वविहीन पुस्तागत आक्रोशको स्वस्फूर्त उभार थियो, जसले पहिलोपटक दलीय सीमाभन्दा बाहिर सिंगो असन्तोषलाई एउटै धारमा ल्यायो।
यसले लोकतन्त्रले दिएका अपेक्षा र वास्तविकताबीचको गहिरो अन्तरलाई प्रष्ट पारेको छ। शिक्षित र सूचनाप्रवाहित जेन–जी पुस्ताले सुरक्षित भविष्यको आकांक्षा बेवास्ता हुँदा उनीहरूले विद्रोहलाई आफ्नो अभिव्यक्तिको भाषा बनाए। यदि यसलाई आत्मसमीक्षा, उत्तरदायित्व र संरचनागत सुधारतर्फ नलैजाने हो भने यो आन्दोलन सुरुवात मात्र हो मुलुक अझ गम्भीर संकटतर्फ धकेलिँदै स्थायी शान्ति र स्थिरता गुमाउनेछ ।