नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य गणेश साहले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टीबाट राजीनामा दिएको पत्र पछिल्लो सचिवालय बैठकमा पठाएका थिए ।
पछिल्लो समय पार्टीको हरेक आन्तरिक बैठकमा कमैमात्र उपस्थित हुँदै आएका साहले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् । नेकपा संयुक्तको अध्यक्ष रहेका उनले २०७३ सालमा माओवादीसँग पार्टी एकता गरेका थिए ।
माओवादीमा झन्डै १० वर्ष सक्रिय भूमिकामा रहेका उनी केन्द्रीय समिति विघटन हुनु पहिले सचिवको जिम्मेवारीमा थिए । अचानक पार्टी परित्यागको घोषणा गरेका पूर्वमन्त्री समेत रहेका साहसँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश-
जेनजी आन्दोलनपछि हरेक पार्टीको उच्च नेतृत्वहरूले नयाँ पुस्तालाई नेतृत्व छोड्नुपर्ने जरुरी थियो, तर हाम्रो पार्टीमा घुमीफिरी उही नेतृत्वलाई नयाँ किसिमले प्रस्तुत हुने स्थिति देखियो । पुरानो नेतृत्वले नयाँ पुस्ताको मागहरूलाई सम्बोधन गर्न सक्दैन । तपाईंले हेर्नुभयो भने भ्रष्टाचार या तस्करीमा पार्टीकै माथिल्लो नेतृत्वहरूको संलग्नता देखियो । महराजी (कृष्णबहादुर महरा)लाई नै भनौँ, नन्दबहादुर पुनहरू सुनको विषयमा जोडिएका छन् । त्यसैले यो सबै परिस्थितिमा राजनीतिक नेतृत्वले नयाँ सिराको जुन कुरा छ, जनादेश छ, त्यसलाई पनि लागु नगर्ने । अर्को, मेरो उमेर र स्वास्थ्यको कारणले पनि अब सक्रिय राजनीतिमा बसेर त्यति फाइदा हुँदैन ।
त्यसैले राजनीतिक पार्टीको काम, संगठित काम छोडेर अब राजनीतिक, सामाजिक र आर्थिक, वैज्ञानिक वातावरणमा युवा पुस्तासँग उनीहरूलाई के सहयोग गर्न सकिन्छ, त्यसमा योगदान गर्नु उचित देखेँ । नेपालको राजनीतिक आन्दोलनको इतिहास, अलिकता उनीहरूको समस्याहरूलाई सम्बोधन गर्न सहयोग गर्ने भनेर म नेपाल कम्युनिस्ट पार्टी माओवादी र अरु कुनै पनि राजनीतिक पार्टीमा पनि संलग्न नहुने निर्णयमा पुगेँ ।
एउटा नागरिक भएर आफ्नो जीवनको अनुभव र आफ्नो सहयोग जसलाई चाहिन्छ, उहाँहरूलाई सहयोग दिने, नयाँ किसिमबाट आफ्नो जीवनलाई क्रियाशील बनाउने मेरो योजना हो ।
होइन, मैले धेरैचोटी यो आमसञ्चार माध्यम र पार्टीमा पनि भनेको थिएँ । जुन किसिमको औद्योगिक क्रान्ति छ, प्रविधि क्षेत्रमा जुन किसिमको अभूतपूर्व क्रान्ति भइरहेको छ, त्यसले समाजमा के कस्तो प्रभाव पारेको छ ? त्यो क्रान्तिले उत्पादनका सम्बन्धहरू, रोजगारीहरू, सामाजिक सम्बन्धहरू, राजनीतिमा परिवर्तन आएको छ । यस बारेमा कम्युनिस्ट पार्टीले गम्भीरतापूर्वक छलफल गर्नुपर्थ्यो ।
अहिले नयाँ पुस्ता वा जेनजीसहितका युवा पुस्ताहरू अग्रसर देखिएका छन् । उनीहरूलाई समेट्न कम्युनिस्टहरूले पुरानो सिद्धान्तमा पुनर्विचार गर्नुपर्ने आवश्यकता छ । माओवादीले पहिले जनयुद्धको नेतृत्व लिए पनि बृहत् शान्तिवार्तामार्फत लोकतान्त्रिक प्रणालीमा आएपछि नेतृत्वलाई नजिकबाट हेर्दा उसमा जुन मूल्य र मान्यता हुनुपर्थ्यो, त्यो देखिएन । खास गरेर सामूहिक नेतृत्वभन्दा पनि बिस्तारै एकल नेतृत्वको बढी अधिकारका कुरा आयो । आलोचना, आत्मालोचनाको परिपाटी पनि नअपनाउने । खासगरी हामी अर्को पार्टीबाट गएको व्यक्तिहरूलाई हेर्ने जुनस्तरको दृष्टिकोण हुनुपर्थ्यो, त्यो नभएको देखियो । माओवादी पार्टीले अरु पार्टीसँग एकता गरे पनि एकताको सन्देश दिन सकेको छैन ।
जुन पार्टीमा मैले काम गरेँ, त्यो पार्टीलाई मैले केही सुझाव दिनु स्वाभाविक हो किनकि ती चिजहरू आगामी दिनमा सच्याउनेतिर पार्टीको ध्यान जाओस् । जुन समय र परिस्थितिमा म माओवादीमा गएँ, नेपालको समग्र कम्युनिस्ट आन्दोलनलाई एकीकृत आन्दोलन बनाउने भनेर गएको हो । त्यसमा झन्डै झन्डै ६–७ वर्ष बसेँ । पछि नेकपा पनि बन्यो, अनि नेकपा पनि फुट्यो । फुटेर दुई वटाबाट तीन वटा पार्टी भयो । मैले आफ्नो जे–जति सहयोग, योगदान गर्न सक्ने थियो, त्यो गरेँ ।
मेरो आफ्नो अनुभव वा क्षमता मुख्य रूपमा राजनीति सँगसँगै वातावरणीय मुद्दाहरू, विज्ञान र प्रविधिका मुद्दाहरू हुन् । अब त्यतातिर आफूलाई बढी व्यस्त राख्छु ।
माओवादी मूल रूपमा सामूहिक नेतृत्वको सट्टा बढी एकल नेतृत्वतिर गयो । त्यसैले एउटा त नेतृत्वको कुरो भयो । दोस्रो, जुन मैले अघि उठाएको थिएँ– समाजमा जुन परिवर्तन आएको छ, म यसलाई डेमोग्राफिक चेन्ज भन्छु । नेपाली समाज सहरमा बढी बस्छ । नेपाली समाजमा युवा पुस्ताको सहभागिता कति छ जनसंख्यामा ? यो मुद्दालाई गम्भीरतापूर्वक छलफल गरेको देखिनँ । पार्टीको महाधिवेशनको कुरो गर्ने, पहिले सम्मेलनको कुरो गरेका थियौँ तर दुई दिन अगाडि महाधिवेशनमा परिणत गरिदिनुभयो । गम्भीरतापूर्वक निर्णय लिने अभ्यास छैन । तेस्रो, धेरै महत्त्वपूर्ण कुरा– पटक–पटक सत्तामा जसरी पनि जाने, चुनावमा एउटासँग लड्ने, गठबन्धन सरकार अर्कोसँग गर्ने, जुन किसिमको राजनीति देखिएको छ, जोसँग पनि सत्ताको लागि सहकार्य गर्ने ! चाहे राप्रपालाई ल्याउने, चाहे रवि लामिछानेलाई ल्याउने, सत्ताको लागि जोसँग पनि साँठगाँठ गर्ने प्रवृत्ति पनि ठिक होइनजस्तो लाग्छ ।
अहिले विचार गर्दा यसले नै आजको उथलपुथल ल्याउन काम गरेको हो कि भन्ने मलाई लाग्छ । देशमा जनयुद्धपछि अहिले जेनजी आन्दोलनकै क्रममा धेरै भौतिक र मानवीय क्षति भयो । त्यसको लागि कहीँ न कहीँ नेकपा माओवादी केन्द्र जिम्मेवार बन्नुपर्छ । एमालेले त अझै पनि यी सबै अरुले गरेको, मैले गरेको होइन भनिरहेको छ । तर जे जति भयो, त्यसको लागि मूल रूपमा चाहिँ मुलुकको प्रमुख राजनीतिक पार्टीहरूले नैतिक जिम्मेवारी लिएर उच्च नेतृत्वले पद छोड्नुपर्थ्यो । जस्तै कांग्रेसमा शेरबहादुर देउवाजीले छोड्नुभयो, त्यो स्वागतयोग्य नै कदम भयो जस्तो लाग्छ । त्यो बाहेक बाँकी प्रचण्डजी होस् या ओलीजी होस्, अझै उपेन्द्र यादवजीहरूले पनि विभिन्न आन्दोलनको नेतृत्व गरिसकेको, सरकार चलाइसकेको हुनाले अब अभिभावकीय भूमिकातिर जानुपर्छ भन्ने मलाई लाग्छ ।
मैले पार्टी छोड्नुका दुई वटा कारण छन् । एउटा, उमेरको कारण पनि हो र अर्को, राजनीतिमा सक्रिय रूपमा नलाग्ने भनेर छोडेको हो । फेरि नयाँ पार्टी खोल्ने, अन्य पार्टीमा जाने भन्ने होइन । कुनै पनि पार्टीलाई मेरो आरोप छैन, मैले सल्लाह–सुझावका रूपमा आफ्ना कुरा भनेको हुँ । आगामी दिनमा कम्युनिस्ट पार्टीहरूले नेतृत्वको सवाल होस् या सरकारमा जाने सवाल या मूल्य र मान्यता या नेताको जीवनशैलीमा होस्, यस बारेमा अलिकता बढी पारदर्शिता, बढी जबाफदेहिता, एकाउन्टेबिलिटीको क्यारेक्टर खेल्नुपर्ने आवश्यकता हुन्छ । त्यतातिर उहाँहरू प्रस्ट हुनुपर्छ ।
होइन, राजीनामाको विषयमा भन्नुहुन्छ भने परिस्थिति कुन बेला आउँछ भन्ने कुरामात्र हो । किनभने जतिखेर ओलीजीसँग मिलेर प्रचण्डजी प्रधानमन्त्री हुनुभयो, त्यो बेलादेखि नै अब यो सरकारमा जानु ठिक होइन भनेर सोच्ने मान्छे हो म । सरकारमा गएको बेलामा राजीनामा दियो भने पद नपाएर होला भनेर साथीहरूले भन्न सक्थे । मलाई खासगरी यो जेनजी आन्दोलनपछि र मेरो उमेरसमेत हेर्दा अब मैले सक्रिय राजनीतिक जीवनमा भन्दा अरु किसिमको जीवन बिताउन उपयोगी र फलदायी हुन्छ भनेर राजीनामा दिएको हुँ ।
म मिटिङहरूमा गएको थिइनँ, प्रचण्डजीसँग यो बारेमा मेरो कुरा पनि भएको छैन । मैले भेट्न पनि पाएको छैन । त्यसैले यस बारेमा प्रचण्डजीसँग केही कुरा भएको छैन । महासचिवलाई मैले पहिले नै पदीय राजनीतिमा नबस्ने भनेर भनेको थिएँ । मेरो उमेर पनि छैन । अहिले ७५ पूरा भएर ७६ वर्षमा लागेँ । मदन भण्डारीजीले राजनीतिमा विश्राम हुँदैन भन्थे । म के भन्न चाहन्छु भने हरेक व्यक्तिले एउटा जीवनपछि विश्राम लिनुपर्छ । हाम्रो गुरुकुलमा के भन्छ भने वानप्रस्थ, सन्न्यासको कुरा गर्छन् राज्यसञ्चालकहरूले । त्यसकारण सक्रिय राजनीतिबाट अलग भएको र वानप्रस्थ जीवनको सुरुवातको रूपमा लिएको छु मैले ।
अब आउने नेतृत्वले पहिलो कुरो राजनीतिक जीवन बिताउनुपर्छ । पद, पैसा, विलासिता जीवनसहितको राजनीतिक जीवन मान्छेले स्वीकारेको छैन । अर्को, नेपोटिज्म (नातावाद), सामन्तवाद अहिले संसारभरि देखिएको छ । त्यसैले उनीहरूको राजनीतिक योगदान भए पनि नातावादलाई प्रश्रय दिनुहुन्न । अहिलेको नेतृत्वले त्यो परिवर्तित विश्व परिवेश, परिवर्तित नेपालको आकांक्षा र अहिलेको अवस्थालाई आत्मसात् गरेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।
नेपाललाई गरिब देश, भिखमंगा देशभन्दा पनि समृद्ध र अलिकता सुखी देश बनाउनेतर्फ गम्भीर ध्यान जानुपर्छ । वितरण प्रणाली सन्तुलित नहुँदा सबै सामाजिक सुरक्षाहरू नभएको हुनाले समाजमा हुने र नहुने बिचको खाडल बढ्यो । यस्ता खाडल समाजमा कम गर्न सकोस् । अहिलेको डिजिटल युग ग्लोबलाइज्ड वर्ल्ड हो । अहिलेको विश्व डिजिटल डिप्लोमेसी हो । अबको युगलाई साइन्स डिप्लोमेसी पनि भन्छन् । अहिले डिजिटल डिप्लोमेसी शब्द आएको छ । त्यसैले अहिले विश्व जुन किसिमले परिवर्तन भइरहेको छ, त्यो परिवेशमा नेपालको भूराजनीतिलाई ख्याल गर्दै अगाडि बढ्न सकोस् । हामीले राजनीति धेरै ग¥यौँ तर कूटनीतिको धेरै कमजोर ज्ञान भयो । राष्ट्रको विदेश नीति, कूटनीति कमजोर भयो । त्यसैले सबल राष्ट्र हुनको लागि विदेश नीति धेरै प्रमुख र धेरै निर्णायक हुँदैछ । त्यसमा पनि खास गरेर नेपाल जस्तो भूराजनीति भएको मुलुकमा । त्यसलाई आगामी दिनमा त्यो नेतृत्वले विज्ञान कूटनीति र डिजिटल कूटनीतिलाई आत्मसात् गरेर जान सकोस् । नेपालको भिसा निकै कमजोर छ । हामीलाई धेरै देशले भिसा दिँदैन । नेपाली पासपोर्टको स्थितिलाई अलिकता विशेष ध्यान दियोस् । गरिब भए पनि स्वाभिमानी नेपाली, विदेश जाँदाखेरि पनि स्वाभिमानका साथ नेपालीहरूलाई सम्मान होस् ।