जाडो छल्न मुसहरलाई ‘घुर’ कै भर

0 Shares

विराटनगर, ७ पुस, मोरङ बुढीगंगा गाउँपालिका १ करैया टोलका कृष्णा ऋषिदेव जाडो छिप्पिन थालेसँगै विहान झिमिसेमै उठछन । उठनासाथ उनी खोजविन गरेर ल्याएको झयासपरामा आगो सल्काउँछन र ताप्न थाल्छन । आगो बलेको थाहा भएपछि परिवारका अरु सदस्यहरु पनि उठछन र सामुहिक रुपमा आगो ताप्दै गफिन थाल्छन ।

दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने कृष्ण ऋषिदेव र उनको परिवार मात्र हैन करैया टोलमा रहेका अति विपन्न दलित समुदायमा पर्ने ५० घरपरिवार यसैगरि खोजखाज गरेको झयासपराल बालेर दिनहुँको जाडो कटाउने गर्छन । हरेक दिन ज्यालामजदुरी गरेर खानुपर्ने बाध्यतामा रहेका भूमिहिन ऋषिदेवहरुसँग जाडो छल्न सुत्दा ओढनेओछयाउने र उठदा लगाउने न्याना लुगाको जोहो हुदैन । यसैले हरेक दिन खोजखाज गरेको झयास परालको आगो ‘घुर’ नै उनीहरुका लागि जाडो छल्ने न्यायो उपाय बनिदिनेगरेको छ ।

हुन त ‘घुर’ ताप्ने कार्यलाई तराई मधेशमा परम्परागत सँस्कृति मानिन्छ । यति मात्र हैन जाडोमा न्यानोका लागि तापिने ‘घुर’ लाई सूचनाकेन्द्र पनि भनिन्छ । किनभने ‘घुर’ कुनै एक व्यक्त्ति वा परिवारले मात्र नभएर समुदायका सबैले आकार अनुसारको ‘घुर’ को न्यानो तापेर गाउँ टोलदेखी देश विदेशमा भएका समसामयिक घटनाका वारेमा चर्चा गर्छन ।

तर दलित समुदाय भित्र अति गरिबमा पर्ने मुसहर समुदायका लागि भने ‘घुर’ ताप्ने चलन परम्परात सँस्कृति र सूचना केन्द्र नभएर केवल जाडोबाट जोगाउने न्यानो उपाय मात्रै हो । किनकी पराल र माटाका छाप्रोमा माटोकै भुईमा पराल र बोरा ओछयाएर सुत्नुपर्ने बाध्यताका गरिब मुसहरु आर्थिक विपन्नताले गर्दा हरेक बर्ष आउने कठयांग्रिदो जाडाका लागि न्याना सिरक र कपडाहरु जोहो गर्न सक्दैनन । दैनिक ज्यालामजदुरी गर्ने बाध्यता र कमाएको पैसा बचत गर्ने बानी नहुँदा हरेक बर्ष आउने सितलहरको कठयांग्रिदो जाडो उनीहरुका लागि निक्कै कष्टकर बन्नेगर्छ । यसैले उनीहरुका लागि ‘घुर’ नै शरिरलाई न्यानो दिने सहारा हुन्छ ।
अगुवा विनोद ऋषिदेवका अनुसार करैया टोलमा रहेका ५० घर मुसहर घरपरिवार सबै अति नै विपन्न छन । प्रायको घरमा नत ओढने न्याना सिरक डसना र लगाउने कपडाहरु नै छन । एक दुई घरमा मात्र खाट प्रयोग गरिन्छन । अगुवा विनोद भन्छन , ‘दिनहुँ कमाई ल्यायो भुटि खायो सकियो हुन्छ यसैले हाम्रो जाडो घुरले नै खाइदिन्छ । ’

राष्ट्रिय मुसहर संघ कोशी प्रदेशका महासचिव धमेन्द्र ऋषिदेवका अनुसार बुढीगंगा गाप १ करैया बस्तीमा मात्र नभएर देशभर रहेका करिब १० लाख मुसहरको अवस्था यस्तै दयनीय रहेको र उनीहरु न्यानो लुगाको अभावमा घुर तापेर जाडो छल्न बाध्य छन । सितलहर चल्न थालेसँगै जाडोकै कारण बृद्धबृद्धा असक्त्त रोगी र बालबालिकाहरुको मृत्यु समेत हुन्छ । यसैले सबै तहका सरकारहरुले देशकै सबैभन्दा पछाडी पारिएको र विपन्न मुसहरु समुदायलाई जोडोबाट हेरचाह गर्न चासो दिनुपर्ने उनी बताउँछन । मुसहर संघ प्रदेश महासचिव धर्मेन्द्र भन्छन , ‘हाम्रो मुसहर समुदाय , ‘राजनैतिक , समाजिक सबै रुपले सबैभन्दा पछाडी छ । यसैले जाडोमा हरेक बर्ष उनीहरु कठयांगिन बाध्य हुन्छन । तर पनि सरकारहरु न्याना कपडा र पोषिला खाद्यान्न सहयोग गदैनन । ’

सम्बन्धित समाचारसबै