एन्जु शिवाकोटी, विराटनगर
विराटनगरमा सञ्चालनमा रहेको व्यापार मेलामा देखाइएको ‘जलपरी’ दृश्यले अहिले नेपाली समाजमा एउटा गहिरो बहस जन्माएको छ । कसैका लागि यो सामान्य मनोरञ्जन हो भने कसैका लागि सामाजिक मर्यादा र मूल्यहरूमाथिको ठाडो चुनौती । प्रश्न केवल जलपरीको होइन, प्रश्न यहाँ हाम्रो सोच, प्राथमिकता र आधुनिकताबोधको हो ।
आज हामी यस्तो मोडमा छौँ, जहाँ आधुनिकताको नाममा जे देखियो, त्यही स्वीकार गर्नुपर्छ भन्ने मानसिकता बलियो बनाइरहेका छौं । तर के आधुनिकता भनेको केवल विदेशी शैलीका दृश्य र सनसनी मात्र हो ? कि आधुनिकता भन्नाले चेतना, विवेक र सन्तुलन पनि बुझ्नुपर्छ ?
व्यापार मेला मूलतः उत्पादन, सीप, उद्यमशीलता र ज्ञान प्रवद्र्धन गर्ने थलो हो । तर जब मेलाको मुख्य आकर्षण व्यापारभन्दा बाहिरका उत्तेजक दृश्य बन्छन्, तब यसको उद्देश्य नै प्रश्नको घेरामा पर्छ ।
जलपरीको नाममा प्रस्तुत दृश्यले दर्शक तान्न त सफल होला, तर यसले समाजलाई के सन्देश दिइरहेको छ ? अर्को गम्भीर पक्ष महिलाको प्रस्तुतिसँग जोडिएको छ । जब महिलाको शरीरलाई मनोरञ्जनको साधनका रूपमा प्रयोग गरिन्छ, तब हामी अनायासै एउटा गलत संस्कारलाई वढुवा दिइरहेका छौं । बालबालिका, किशोर–किशोरी र पारिवारिक दर्शक सहभागी हुने सार्वजनिक स्थलमा यस्ता दृश्य कति उपयुक्त छन् भन्ने बहस हुन अत्यन्तै आवश्यक छ ।
यसको अर्थ यो होइन कि समाज मनोरञ्जनविरोधी होस् वा सबै नयाँ प्रयोग अस्वीकार गरियोस् । समस्या मनोरञ्जनमा होइन, मर्यादाहीन मनोरञ्जनमा हो । यदि कुनै कार्यक्रम सामाजिक सन्दर्भ, उमेर समूह र सांस्कृतिक संवेदनशीलतालाई बेवास्ता गरेर प्रस्तुत गरिन्छ भने त्यसको विरोध स्वाभाविक बन्न जान्छ ।
हामीले बुझ्नुपर्ने कुरा के हो भने विदेशी समाजका अभ्यासहरू सिधै आयात गर्दा त्यसले निम्त्याउने सामाजिक प्रभावको पनि मूल्यांकन गर्नुपर्छ । नेपाली समाज अझै पनि पारिवारिक संरचना, सांस्कृतिक मर्यादा र सार्वजनिक लज्जासँग गहिरो रूपमा जोडिएको छ । यसलाई नजरअन्दाज गरेर अघि बढ्नु दीर्घकालमा सामाजिक विचलनको कारण बन्न सक्छ ।
जलपरीको बहसले हामीलाई एउटा ठूलो ऐना देखाएको छ । के हामी साँच्चै परिवर्तन चाहिरहेका छौँ, या त केवल ध्यान तान्ने उपाय खोजिरहेका छौँ ?
अन्ततः प्रश्न जलपरी देखाउने वा नदेखाउनेको होइन,। प्रश्न हो ! हामी कस्तो समाज निर्माण गर्न चाहिरहेका छौं ?