काठमाण्डौ। रौतहट जिल्ला प्रशासन कार्यालयले गौर नगरपालिका, वडा नम्बर ६ मा कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख दिनेश सागर भुसालका अनुसार सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको हो। कर्फ्यू आज दिउँसो १ बजेदेखि लागू गरिएको छ र अर्को आदेश जारी नभएसम्म कायम रहने बताइएको छ।
प्रजिअ भुसालका अनुसार सदरमुकाम गौर भन्सार कार्यालय, पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध र उत्तरमा बम नहर क्षेत्रभित्र कर्फ्यू लागू गरिएको छ।
हिजो बिहानदेखि गौर क्षेत्र तनावग्रस्त बन्दै गएको थियो। हाल पनि अवस्था असामान्य बनेको र वडा नम्बर ४, ५ र ६ मा झडप भइरहेको उल्लेख गरिएको छ। झडपको क्रममा एउटा गाडीमा आगजनी समेत भएको थियो, जसले तनावलाई थप बढाएको थियो।
प्रशासन कार्यालयले कर्फ्यू अवधिमा कुनै पनि व्यक्ति घरबाहिर निस्कन, भेला जुलुस गर्न, सभा–प्रदर्शन गर्न वा आवतजावत गर्न पूर्णरूपमा निषेध गरिएको जानकारी दिएको छ।