विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका मोरङबाट निर्वाचित पाँच सांसदले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण नबुझाएको पाइएको छ।
रास्वपा संसदीय दलले पटक–पटक ताकेता गर्दा पनि सम्पत्ति विवरण नबुझाउने सांसदहरूको सूची सार्वजनिक गरेपछि मोरङका पाँच सांसदको नाम पनि बाहिर आएको हो।
सूचीमा मोरङ–५ की सांसद आशा झा पनि छिन्। त्यसैगरी मोरङ–१ का यज्ञमणि न्यौपाने, मोरङ–२ का कृष्णकुमार कार्की, मोरङ–४ का सन्तोष राजवंशी र मोरङ–६ की रुविना आचार्यले पनि सम्पत्ति विवरण बुझाएका छैनन्।

मोरङबाट रास्वपाका ६ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। तीमध्ये मोरङ–३ का गणेश कार्कीले मात्रै सम्पत्ति विवरण बुझाएका छन्।
अर्थात्, मोरङबाट रास्वपाको प्रतिनिधित्व गर्ने ६ सांसदमध्ये पाँच जनाको नाम सम्पत्ति विवरण नबुझाउने सूचीमा परेको छ।
रास्वपा संघीय संसदीय दलले सार्वजनिक गरेको विवरणअनुसार सम्पत्ति विवरण नबुझाउने सांसदहरूको सूची २०८३ असार २९ गतेसम्मको अवस्थाका आधारमा तयार गरिएको हो।
सार्वजनिक पदमा रहेका जनप्रतिनिधिले आफ्नो सम्पत्ति विवरण बुझाउने व्यवस्था रहेको अवस्थामा एउटै जिल्लाका पाँच सांसदको नाम एकैपटक सार्वजनिक भएपछि यो विषय मोरङमा पनि चासोको विषय बनेको छ।