राष्ट्र र जनताको हितमा सबैसँग सहकार्य गर्नुपर्छ : रामकुमारी झाँक्री

0 Shares
काठमाडौं । राष्ट्रिय सभाकी नवनिर्वाचित सदस्य रामकुमारी झाँक्रीले देश र जनताको हितका विषयमा संसदका सबै पक्षसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताएकी छन्।

सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदका दुवै सदनले सहकार्य र समन्वयका साथ काम गर्नुपर्ने धारणा व्यक्त गरिन्।

झाँक्रीले संविधानले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसदका दुई सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको व्यवस्था गरेको उल्लेख गर्दै दुवै सदनले राष्ट्र र जनताको हितमा प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन्।

उनले संसद लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण संस्था भएकाले यहाँ हुने काम कारबाही जनताको हितसँग प्रत्यक्ष रूपमा जोडिएको बताइन्। त्यसैले संसदभित्र दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

‘यी दुईवटै सदन राष्ट्र र जनताको पक्षमा काम गर्न शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संविधानतः गठन भएका हुन्,’ उनले भनिन्, ‘त्यसकारण जनता र राष्ट्रको हितमा हुने हरेक काममा जोकोहीसँग पनि साझेदारी गरेर संसदको काम गर्नुपर्छ।’

झाँक्रीले संसदभित्रको सहकार्यलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै कसैले पनि यसलाई हतोत्साही वा त्रासदीको भावनाबाट हेर्न नहुने स्पष्ट पारिन्। उनका अनुसार लोकतान्त्रिक अभ्यासमा सहकार्य र संवाद नै सबैभन्दा महत्वपूर्ण पक्ष हो।

उनले आगामी दिनमा राष्ट्रिय सभामा सक्रिय भूमिका निर्वाह गर्दै जनताको हित र देशको विकाससँग सम्बन्धित विषयहरूलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता पनि व्यक्त गरिन्।

सम्बन्धित समाचारसबै