अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एप्रिल २ तारिखदेखि कार र कारका पार्टपुर्जाहरूमा लागु गर्न लागेको नयाँ आयात शुल्क नयाँ करशृङ्खलाको हिस्सा हुने छ।
ट्रम्पले उक्त मितिलाई “लिबरेशन डे” अर्थात् स्वतन्त्रता दिवस भनिरहेका छन्। त्यस दिन उनले विभिन्न व्यापार साझेदारहरूले हुँदै आएका “असङ्गत” अभ्यासहरूविरुद्ध जबाफी शुल्क घोषणा गर्ने छन्।
संयुक्त राज्य अमेरिकाले यसअघि स्टील, आलुमिनिअममा तथा क्यानडा, चीन र मेक्सिकोबाट आयात गरिने वस्तुहरूमा कडा शुल्क लगाइसकेको छ।जुन देशबाट अमेरिकाले आफ्नो निर्यातभन्दा बढी आयात गरिरहेको छ ती देशहरूका लागि त्यस्तो शुल्क घोषणा गरिनेछ।
राष्ट्रपति डोनल्ड ट्रम्पले हालै मोटरहरूमाथि २५ प्रतिशत शुल्क घोषणा गरेका छन् जुन एप्रिल २ तारिखबाट कार्यान्वयनमा आउने छ।
कारका पार्टपुर्जामा लगाइएका शुल्कहरू मे अथवा त्यसपछि कार्यान्वयनमा आउने उनले बताएका छन्।
अमेरिकाले २४० अर्ब डलर बराबरका करिब ८० लाख कार बर्सेनि आयात गर्ने गरेको छ।
ट्रम्पले संयुक्त राज्य अमेरिकामा क्यानडा र मेक्सिकोका सामानमा २५ प्रतिशत शुल्क लाग्ने घोषणा गरेका छन्।
उनले क्यानडाको ऊर्जा आयातमा १० प्रतिशत शुल्क लगाएका छन्।
यद्यपि अमेरिका-मेक्सिको-क्यानडा (यूएसएमसीए) स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत उत्पादन गरिने मोटर र त्यसका पार्टपुर्जाको हकमा भने अमेरिकी भन्सार अधिकारीहरूले मूल्याङ्कन नगरुन्जेल त्यो शुल्क लागु हुने छैन।
त्यहाँका सरकारहरूले अमेरिकामा हुने गरेको गैरकानुनी आप्रवासीहरूको प्रवेश रोक्न सहयोग नगरेको र अवैध फेन्टानिलको निर्यात रोक्नका लागि कदम नचालेकाका कारण क्यानडा र मेक्सिकोमाथि थप शुल्क लगाइएको ह्वाइट हाउसले जनाएको छ।
यसअघि फेब्रुअरी ४ मा अमेरिकाले चीनबाट आयात गरिने सामानमा १० प्रतिशत शुल्क लगायो र त्यसलाई बढाएर मार्च ४ मा २० प्रतिशत पुर्याएको छ।
त्यसको जबाफी कदमस्वरूप चीनले कृषिजन्य अमेरिकी वस्तुमा १० देखि १५ प्रतिशत कर लगाएको छ।
क्यानडाले ४० अर्ब डलरभन्दा बढीको अमेरिकी आयातमा शुल्क लगाएको छ। मेक्सिकोले जबाफी शुल्कहरू लगाइसकेको छैन।