राँझा-नेपालगञ्ज उपमहानगरपालिका–९ को वडा कार्यालय भवन शिलान्यास गर्दै उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले आफ्नै भवन नभएका सबै वडाको व्यवस्थित कार्यालय भवन निर्माण सुरु गरेको बताए |
‘नेपालगञ्ज उपमहानगरपालिकाका केही वडा कार्यालय अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ’, उनले भने, ‘वडा कार्यालयले जग्गाको व्यवस्था सुनिश्चित गर्नासाथ भवन निर्माणमा उपमहानगरपालिकाले बजेट व्यवस्थापन लागि आफूले पहल गर्ने बताए।
नेपालगञ्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले वडावासीलाई आफ्नै सुविधा सम्पन्न भवनबाट अझ सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ वडा कार्यालयको भवन निर्माण सुरु गरिएको बताए।
उनले चालु आर्थिक वर्षमा वडाको रु २५ लाख बजेट र बाँकी नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थापन गर्ने गरी निर्माणकार्य सुरु गरिएको जानकारी दिए। भवन निर्माणको लागि ४० लाखमा टेण्डर आह्वान गरेकोमा रु ३३ लाखमा ठेक्का स्वीकृत भएको उनले बताए।