विराटनगर । नेपाली कांग्रेसको आसन्न मोरङ जिल्ला अधिवेशनमा जिल्ला सभापति पदका लागि नेता दिलीप गच्छदारले आफ्नो दाबेदारी प्रस्तुत गर्ने भएका छन्। संविधानसभा सदस्य तथा पूर्व युवा तथा श्रम रोजगारमन्त्रीसमेत रहेका गच्छदारले पार्टीको जिल्ला नेतृत्व सम्हाल्ने तयारी गरेका हुन्।
२०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय गच्छदार मोरङ कांग्रेसका पुराना र अनुभवी नेतामध्ये एक हुन्। प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनदेखि पार्टीको सांगठनिक गतिविधिसम्म निरन्तर जोडिँदै आएका उनी मोरङको राजनीतिमा शालीन र भद्र नेताका रूपमा परिचित छन्।
गच्छदारका लागि जिल्ला सभापतिको प्रतिस्पर्धा भने नयाँ होइन। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पनि उनले मोरङ जिल्ला सभापति पदमा उम्मेदवारी दिएका थिए। पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा निर्वाचन भएको थियो। उक्त प्रतिस्पर्धामा गच्छदार डा. शेखर कोइराला पक्षका उम्मेदवार डिगबहादुर लिम्बुसँग पराजित भएका थिए।
१४औँ महाधिवेशनमा सभापति पदको प्रतिस्पर्धामा उत्रिएका गच्छदारले आगामी अधिवेशनमा पनि जिल्ला नेतृत्वका लागि दाबेदारी प्रस्तुत गर्नुलाई उनको निरन्तर राजनीतिक आकांक्षाका रूपमा हेरिएको छ।
लामो राजनीतिक अनुभव, पार्टी संगठनमा निरन्तरको आबद्धता र विभिन्न राजनीतिक तथा सार्वजनिक जिम्मेवारी सम्हालेको अनुभवलाई आफ्नो राजनीतिक यात्राको आधार बनाएका गच्छदार अहिले पुनः जिल्ला नेतृत्वको दौडमा उत्रिन लागेका हुन्।
मोरङ कांग्रेसमा आगामी नेतृत्व चयनसँगै पार्टीभित्रको एकता, संगठनको सुदृढीकरण, कार्यकर्ताको व्यवस्थापन र नयाँ पुस्ताको सहभागिता मुख्य बहसका विषय बन्ने देखिन्छन्। पुराना नेताको अनुभव र नयाँ पुस्ताको अपेक्षाबीच सन्तुलन कायम गर्नु आगामी जिल्ला नेतृत्वका लागि महत्वपूर्ण चुनौती हुनेछ।