विराटनगर । नेपाली कांग्रेस मोरङभित्र १५औँ महाधिवेशनलाई लिएर विवाद चर्किन थालेको छ। क्षेत्रीय अधिवेशनका क्रममा पार्टीका जिल्ला नेताहरूबाटै हस्तक्षेप भएको आरोप सार्वजनिक भएपछि कांग्रेस मोरङको आन्तरिक विवाद थप सतहमा आएको छ।
नेपाली कांग्रेस मोरङका जिल्ला सचिव मोदराज घिमिरेले जिल्ला सभापति डिगबहादुर लिम्बूमाथि क्षेत्रीय अधिवेशनमा एकलौटी ढंगले हस्तक्षेप गरेको आरोप लगाएका छन्।
संगठन शुद्धीकरण अभियान नेपाली कांग्रेस क्षेत्र नम्बर ३ द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सचिव घिमिरेले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा जिल्ला सभापति लिम्बूले हस्तक्षेप गरेको बताएका हुन्। उनले क्षेत्र नम्बर ६ को अधिवेशनका विषयमा जिल्ला कार्यसमितिबाट कुनै पनि औपचारिक निर्णय नभएको दाबी गरे। जिल्ला समितिमा छलफल भएर संस्थागत निर्णय हुनुपर्ने विषयमा समेत सभापति लिम्बूले एकलौटी ढंगले अघि बढेको उनको आरोप छ।
पार्टीको महाधिवेशनजस्तो महत्वपूर्ण प्रक्रियामा सबैलाई समेटेर विधि र पद्धतिअनुसार अघि बढ्नुपर्नेमा नेतृत्वबाटै हस्तक्षेप हुनु उचित नभएको घिमिरेको भनाइ छ। उनले अधिवेशनका क्रममा जिल्ला तहका नेताहरूले देखाएको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी सञ्चालनमा संस्थागत निर्णयको आवश्यकतासमेत औँल्याएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै मोरङका विभिन्न निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशनको विवाद र असन्तुष्टि देखिन थालेको हो। अधिवेशनका क्रममा देखिएका विवादले पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष र नेतृत्वबीचको मतभेदलाई समेत उजागर गरेको छ। विशेषगरी क्षेत्र नम्बर ६ को अधिवेशनलाई लिएर जिल्ला नेतृत्वमाथि नै प्रश्न उठेपछि मोरङ कांग्रेसको संगठनात्मक एकता र अधिवेशन सञ्चालन प्रक्रियाबारे बहस सुरु भएको छ।
जिल्ला सचिवकै तहबाट जिल्ला सभापतिमाथि सार्वजनिक रूपमा यस्तो आरोप लाग्नुले मोरङ कांग्रेसभित्रको असन्तुष्टि सामान्य विवादमा मात्र सीमित नरहेको संकेत गरेको छ।
—भिडियो सहित