0
Shares
गोरखा–गोरखा बारपाकी ६२ वर्षीया धनमाया गुरुङलाई १० वर्षयता वैशाख १२ कहिले पनि नआओस् जस्तो लाग्छ।
बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ वैशाख १२ मा गएको भूकम्पमा उनलाई आफ्नो सात वर्षीया भदैनी गुमाएको कुराले सधैँ पिरोल्छ। गहभरि आँसु पारेर धनमाया भन्छिन्, “न्यास्रो लागेर माइतीबाट भदैनी घर ल्याएको थिएँ। त्यही दिन भूकम्प आउनुपरेको। आँगनमा खेलीरहेकी भदैनी घर भत्किएर लग्यो। भदैनी भूकम्पमा पर्नुको दोषी म आफैँ हो जस्तो लाग्छ।”
धनमाया जस्तै भूकम्पमा आफ्न्त गुमाउने बारपाकवासीको पीडा उस्तै छ। धेरैले परिवारका सदस्य गुमाउनुपर्यो भने कति घाइते भएर जीवनभर अशक्त बन्नुपरेको छ। ३४ वर्षीय डोलमाया घलेले पनि त्यस दिनलाई बिर्सन सकेकी छैनन्। “आकास गर्जदा अझैँ पनि डर लाग्छ। गाउँमा ठूल्ठूलो गाडी आउँदा पनि भूकम्प नै आएजस्तो लाग्छ। मुटु नै चिसो बनाउँछ”, उनी भन्छिन्।