काठमाडौँ- गत वर्ष निर्वाचन प्रचारप्रसारका बेला डोनल्ड ट्रम्पले अमेरिकी सहरहरूमा उनले ‘लेफ्ट विङ्’हरूको अराजकता नसहने र राष्ट्रपतिको पूर्ण शक्ति त्यस्ता गतिविधिविरुद्ध लगाउने वाचा गरेका थिए।
अमेरिकाको आप्रवासनसम्बन्धी सङ्घीय निकाय इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई वा आइस)का कारबाहीविरुद्ध शनिवार राति क्यालिफोर्नियामा भएको विरोध प्रदर्शनले ट्रम्पलाई ठ्याक्कै त्यही वाचा पूरा गर्ने मौका दिएको देखिन्छ।
लस एन्जलस सहरको प्रहरीले ती प्रदर्शनहरू शान्तिपूर्ण भनिरहेको छ र स्थानीय प्रशासनले हिंसात्मक भएका केही झडप आफूहरूले नियन्त्रण गर्न सक्ने बताइरहेका छन्।
तर ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी अधिकारीहरूलाई निसाना गरिएको र घाइते बनाइएको भनेको छ अनि उसले स्थानीय निकायले ती प्रदर्शन रोक्न विलम्ब गरेको बताएको छ |
“घटनास्थलमा लस एन्जलस प्रहरीलाई घण्टौँ कुर्नुपर्ने अनि हाम्रा कोही अधिकारी खतरामा नपुगेसम्म उनीहरूले कुनै सहयोगी कारबाही नगर्ने जस्तो अवस्था सही होइन जब तपाईँका सामु हिंसात्मक प्रदर्शन भइरहेका हुन्छन्,” होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोअमले आईतवार सीबीएस न्यूजलाई भनिन्।
लस एन्जलस प्रहरीले चाहिँ उसले ‘सम्भव भएसम्म द्रुत गतिमा काम गरिरहेको’ अनि कुनै घटनाको जानकारी भएको ५५ मिनेटभित्र भिड नियन्त्रण गरिरहेको जबाफ दिएको छ।
जुन गतिमा ट्रम्पले प्रतिक्रिया जनाइरहेका छन् त्यसले के देखाउँछ भने यो लडाइँका निम्ति उनी तम्तयार थिए – अझ भनौँ उत्सुक नै थिए।
ह्वाइट हाउस ठान्छ कानुन व्यवस्था, अनि आक्रामक ढङ्गले आप्रवासन नीति कार्यान्वयनका विषय उनका लागि राजनीतिक रूपमा लाभदायी छन्।
उनका मूल समर्थकहरू यस्ता कार्यबाट खुसी हुन्छन् अनि स्वतन्त्र मानिसहरू सार्वजनिक सुरक्षाको विषयलाई लिएर आकर्षित हुन्छन्।
सन् २०२० मा मिनिसोटामा ब्ल्याक लाइभ्स म्याटर अभियानताका भएका प्रदर्शनहरूको स्मरण गर्दै नोअमले त्यतिखेर दङ्गालाई बेरोकटोक चल्न दिइएको बताइन् र ट्रम्प प्रशासन त्योभन्दा बेग्लै ढङ्गले प्रस्तुत हुने बताइन्।
“हामी २०२०को जस्तो अवस्था दोहोरिन दिन्नौँ,” उनले भनिन्।
तर डेमोक्र्याटहरूले चाहिँ प्रशासनले सैनिकजस्तै हतियारधारी अनि नकाब लगाएका आप्रवासन अधिकारीहरूलाई रेस्टुराँ तथा पसलहरूलमा खटाउने कार्यलाई भड्काउपूर्ण भनेका छन्। प्रशिक्षित सेनालाई खटाउन अनावश्यक पनि भनेका छन्।
“राज्य सरकारले सहयोग नमाग्दै राष्ट्रपतिले यसो गर्नु पुस्तौँदेखिका हाम्रा परम्परा विपरीत हुन्। र यसले केवल स्थितिलाई भड्काउँछ र थप खराब बनाउँछ,” न्यूजर्सीका सिनेटर कोरी बुकरले भने।
“आप्रवासन सुनुवाइमा उपस्थित हुँदै गरेका अनि कानुनको पालना गर्न खोजिरहेका मानिसहरूलाई समेत पक्राउ गरेर अमेरिकाका राष्ट्रपतिले रोपेका अराजकता र भ्रमकै कारण यी धेरै प्रदर्शन भइरहेका छन्,” उनले भने।
गर्मी याममा विरोध प्रदर्शनहरू भइरहने अमेरिकाको इतिहास नै छ।
ट्रम्पको दोस्रो कार्यकालको पाँच महिना बित्दै गर्दा क्यालिफोर्नियाका यी प्रदर्शनहरू यहीँ रोकिएलान् वा आगामी दिनमा विस्तार होलान् भन्ने प्रश्न बाँकी छन्।