अमेरिकी आक्रमणमा इरानी परमाणु कार्यक्रम नष्ट नभएको खुफिया दाबीप्रति ट्रम्प आक्रोशित

0 Shares

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा सप्ताहान्तमा अमेरिकाले गरेको विशाल बमबारीको असरबारे चुहाइएको खुफिया विश्लेषणका विवरणप्रति आक्रोशपूर्ण प्रतिक्रिया जनाएका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले गरेको पोस्टको मुख्य निसाना अमेरिकी सञ्चारमाध्यम र तिनको रिपोर्टिङ् रहेको छ।ठूला अक्षरमा पोस्ट गर्दै उनले खासगरी सीएनएन र न्यूयोर्क टाइम्सको नामै किटेर ‘इतिहासकै सबभन्दा सफलमध्येको सैन्य कारबाहीलाई होच्याउने उद्देश्यले तिनले साँठगाँठ गरेको’ उल्लेख गरे।

उनले इरानको परमाणु केन्द्रहरू पूरै नष्ट भएको भन्दै जनताले सीएनएन र न्यूयोर्क टाइम्सको कडा आलोचना गरिरहेको बताए।

यसअघि ह्वाइट हाउसले पनि इरानी परमाणु क्षमता नष्ट नभएको भन्ने चुहाइएको खुफिया विवरण ‘सरासर गलत’ भन्दै त्यस्ता विवरण ‘राष्ट्रपति ट्रम्पलाई होच्याउने स्पष्ट नियतका साथ’ आएको टिप्पणी गरेको छ।

रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमको मूल तत्त्व नष्ट नभएको र ती कार्यक्रमलाई केही महिनाले मात्रै पछि धकेलिदिएको भनेर अमेरिकी सञ्चारमाध्यमहरूमा चुहाइएका खुफिया विवरणलाई खारेज गरिदिएको छ।

अमेरिकी डिफेन्स इन्टलिजन्स एजेन्सीको प्रारम्भिक विश्लेषणलाई उद्धृत गर्दै कैयन् सञ्चारमाध्यमले त्यस्तो विवरण सार्वजनिक गरेका थिए।

पेन्टागनको विज्ञप्तिमा परमाणु अस्त्र बनाउने इरानको क्षमता सम्पूर्ण ध्वस्त भएको जनाइएको छ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा इजरेली राजदूत ड्यानी ड्याननले ती आक्रमणको प्रभावबारे आकलन गर्न हतारो हुने भन्दै तत्कालको खतरा भने टरेको बताएका थिए।

सम्बन्धित समाचारसबै