काठमाण्डौं । नेकपा एमालेकी सचिव पद्यमा अर्यालले आगामी निर्वाचनलाई व्यक्ति–केन्द्रित प्रतिस्पर्धाभन्दा राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक क्षणका रूपमा व्याख्या गरेकी छन्। स्याङ्जा–रुपन्देही सम्पर्क मञ्चले स्याङ्जा क्षेत्र नम्बर २ का उम्मेदवार खिम थापासँग आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले “यस पटकको चुनावमा व्यक्ति जित्ने–हार्नेभन्दा राष्ट्र जित्ने कि हार्ने भन्ने प्रश्न प्रमुख हो” भनिन्।
उनले मुलुकको समृद्धि र राष्ट्रियताको रक्षा सुनिश्चित गर्न एमालेको विजय अपरिहार्य रहेको दाबी गरिन्। राजनीतिले समाजलाई जोड्नुपर्नेमा अहिले नयाँ र पुरानाको बहानामा विभाजन बढाइएको टिप्पणी गर्दै अर्यालले भनिन्, “समाजलाई टुक्र्याएर राष्ट्र बलियो बन्न सक्दैन।”
पूर्वमन्त्रीसमेत रहेकी अर्यालले कार्यकर्ताहरूलाई चुनावी अभियानमा सक्रिय हुन आग्रह गर्दै छोटो समयको समर्पणले दीर्घकालीन परिवर्तन सम्भव हुने बताइन्। “१५ दिन इमान्दारीपूर्वक घरदैलोमा खटिनुभयो भने समृद्धिको मार्ग खुल्नेछ,” उनको भनाइ थियो।
कार्यक्रममा एमाले सचिव छविलाल विश्वकर्माले संगठन सुदृढीकरण र विपक्षीले फैलाएका भ्रम चिर्नुपर्नेमा जोड दिए। “हामीले जिते मात्रै अधुरा विकास योजनाले पूर्णता पाउँछन्, यो निर्वाचन ‘गर या मर’ को अवस्था हो,” उनले भने।
क्षेत्र नम्बर २ का उम्मेदवार खिम थापाले स्याङ्जालाई लागेको ‘पितृले भोट हाल्ने जिल्ला’ भन्ने आरोप यस पटक मेटाउने संकल्प व्यक्त गरे। कालिगण्डकी गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका थापाले स्थानीय तहमा निःशुल्क स्वास्थ्य बिमा, शिक्षा, कृषि र सिँचाइ क्षेत्रमा गरेको कामलाई क्षेत्रीय र राष्ट्रिय स्तरमा विस्तार गर्ने योजना सुनाए।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मी र स्याङ्जा जिल्ला अध्यक्ष पारस गैरेले पनि राष्ट्रियता, अखण्डता र स्वाभिमानको संरक्षणका लागि एमालेको जित आवश्यक रहेको धारणा राखेका थिए।