काठमाडौँ । निर्वाचन आयोग ले निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी ६६ उजुरी दर्ता भएको जनाएको छ। ती उजुरीका आधारमा सम्बन्धित राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालासँग स्पष्टीकरण माग गरिएकोमा हालसम्म ३२ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको हो।
आचारसंहिता उल्लङ्घन गरेको आरोप लागेका राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग स्पष्टीकरण सोधिएको छ। दर्ता भएका सञ्चारमाध्यम तथा पत्रकारसम्बन्धी विषयमा भने प्रेस काउन्सिल नेपाल मार्फत आवश्यक कारबाहीका लागि पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए।
जिल्लास्तरमा समेत आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी प्राप्त भइरहेका छन् र आवश्यक कारबाही अघि बढाइएको छ। प्राप्त ३२ स्पष्टीकरणको अध्ययन भइरहेको आयोगले जनाएको छ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, अनुगमन अधिकृत र सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रहेको आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ अनुसार ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई गैरआर्थिक विषय र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयको अनुगमन जिम्मेवारी दिइएको छ।
आयोगका अनुसार जिल्लास्तरमा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने, पालना गर्ने प्रतिबद्धता गराउने तथा उजुरीका आधारमा स्पष्टीकरण मागी दोषी देखिएकामाथि कानुनी प्रक्रिया अघि बढाउने काम प्रभावकारी रूपमा भइरहेको छ।







