दुर्गा प्रसाईं चार दिन हिरासतमा, सार्वजनिक शान्ति विरुद्ध अनुसन्धान सुरु

0 Shares

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं लाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल ले प्रहरीलाई हिरासत अनुमति प्रदान गरेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई का अनुसार प्रसाईंमाथि सार्वजनिक शान्ति विरुद्धको कसुर तथा अफवाह फैलाएको आरोपमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका प्रसाईंले पछिल्लो समय सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए अनिश्चितकालीन बन्द आह्वान गर्ने तथा निर्वाचन हुन नदिने जस्ता उत्तेजक अभिव्यक्ति दिएका थिए।

यसअघि पनि माघ २३ गते पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए। त्यसबेला निर्वाचनसम्बन्धी अभिव्यक्तिका आधारमा साइबर ब्यूरोले बयान लिएर उनलाई रिहा गरेको थियो। त्यस्तै, माघ ५ गते पोखराबाट पक्राउ परेर पनि उनी छुटेका थिए।

पटक–पटक पक्राउ र रिहाइ हुँदै आएका प्रसाईंमाथि यसपटक भने सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा प्रहरीले गम्भीर अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचारसबै