मध्यपूर्व युद्धको असर: रुपन्देहीका उद्योग सटडाउनको संघारमा

0 Shares

बुटवल।अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभावले रुपन्देहीका उद्योगहरू गम्भीर संकटमा परेका छन्। उद्योगीहरूले लागत असन्तुलन र कच्चा पदार्थ अभावका कारण उद्योगहरू बन्द हुने (सटडाउन) अवस्थासम्म पुगेको भन्दै सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ, कच्चा पदार्थ, ढुवानी भाडा, बीमा शुल्क तथा प्रशासनिक खर्चमा व्यापक वृद्धि भएको छ। यसले उद्योगहरूको समग्र लागत संरचना असन्तुलित बनाएको छ र धेरै उद्योगहरू उत्पादन घटाउन तथा बन्द गर्न बाध्य भइरहेका छन्।

विशेषगरी प्लास्टिकजन्य उद्योगहरूमा प्रयोग हुने कच्चा पदार्थको मूल्य अत्यधिक बढेको छ। उद्योगीहरूका अनुसार पहिले प्रतिटन ९ सय डलरमा पाइने प्लास्टिक दाना अहिले बढेर १५ सय डलरसम्म पुगेको छ, जसले उद्योग सञ्चालन थप कठिन बनाएको छ।

रुपन्देही उद्योग संघले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको अस्वाभाविक मूल्यवृद्धिले देशभरका उद्योगहरू जोखिममा परेको जनाएको छ। लागत नियन्त्रण बाहिर जाँदा धेरै उद्योगहरू आंशिक रूपमा बन्द हुने अवस्थामा पुगेका छन्।

यसैबीच बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवालले कच्चा पदार्थ आयातमा समस्या उत्पन्न भएपछि उद्योग सञ्चालनमा ठूलो अन्योल सिर्जना भएको बताए। उनका अनुसार भारतीय कम्पनीहरूले नेपाली उद्योगको अर्डर लिन छाडेका छन् भने दक्षिण कोरिया, भियतनाम र थाइल्यान्डबाट आयात गर्न उच्च ढुवानी लागत र समयका कारण सम्भव भइरहेको छैन।

रुपन्देही–भैरहवा–बुटवल औद्योगिक करिडोरमा करिब २० देखि २५ अर्ब रुपैयाँ लगानी रहेको उद्योगीहरूको भनाइ छ। यस क्षेत्रका उद्योगहरूले ५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएका छन्।

युनाइटेड प्लास्टिक उद्योगका सञ्चालक खिमनारायण पराजुलीका अनुसार एलसी खोलेको सामानसमेत भारतीय सप्लायर्सले नपठाउँदा अबको एक हप्ताभित्र कच्चा पदार्थ नआए धेरै उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्नेछ।

भैरहवा भन्सार कार्यालयका निमित्त प्रमुख सन्तोष न्यौपानेले पनि फलाम तथा प्लास्टिकजन्य कच्चा पदार्थको आयात प्रभावित भएको स्वीकार्दै आगामी दिनमा उद्योग क्षेत्रमा यसको गम्भीर असर देखिने संकेत मिलिसकेको बताए।

लुम्बिनी प्रदेशमा मात्रै करिब २५२ वटा साना–ठूला प्लास्टिक उद्योग सञ्चालनमा छन्, जसमा ठूलो लगानी र रोजगारी जोडिएको छ।

रुपन्देही उद्योग संघका महासचिव सुमन बस्यालले संकटग्रस्त उद्योगलाई जोगाउन सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने बताएका छन्। उनले कच्चा पदार्थ आयातमा सहुलियत, ढुवानी लागत नियन्त्रण, बैंक ब्याजदरमा राहत तथा आवश्यक वित्तीय सुविधा उपलब्ध गराउन माग गरे।

साथै विद्युत् महसुल र अन्य सेवा शुल्कमा अस्थायी राहत दिनुपर्ने आवश्यकता औंल्याउँदै उनले उद्योग टिकाउन सरकारी सहयोग अपरिहार्य भएको बताए।

संघका अनुसार उत्पादन घट्दै जाँदा रोजगारीमा प्रत्यक्ष असर पर्नेछ भने उद्योग बन्द भए श्रमिक, आपूर्ति श्रृंखला, ढुवानी व्यवसाय, बैंकिङ क्षेत्र तथा समग्र अर्थतन्त्रमा गम्भीर असर पर्ने निश्चित छ।

विज्ञप्तिमा बजारमा बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न र आपूर्ति व्यवस्थापन सहज बनाउन नियमनकारी निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

उद्योग क्षेत्रलाई देशको आर्थिक मेरुदण्डका रूपमा लिइने भएकाले उद्योगहरू बन्द हुँदा राजस्व संकलन घट्ने, बेरोजगारी बढ्ने र समग्र आर्थिक गतिविधि प्रभावित हुने जोखिम बढेको उद्योगीहरूको चिन्ता छ।

सम्बन्धित समाचारसबै