काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभर विविध कार्यक्रमका साथ ‘विश्व आदिवासी दिवस’ मनाइँदै छ।
यस अवसरमा काठमाडौँमा विभिन्न सङ्घ-संस्थाको आयोजनामा प्रभातफेरी तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिएका छन्।संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० भन्दा बढी देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम भए पनि संसारका सबैभन्दा गरिबमध्ये कम्तीमा १५ प्रतिशत हिस्सा ओगट्छन्। साथै, विश्वमा बोलिने अनुमानित सात हजार भाषामध्ये ठूलो हिस्सा यिनै समुदायले बोल्छन् र करिब पाँच हजार फरक संस्कृतिको प्रतिनिधित्व गर्छन्।
आदिवासी जनजाति समुदायले आफ्ना विशिष्ट संस्कृति, परम्परा र मानिस तथा प्रकृतिबिचको सम्बन्धसम्बन्धी मौलिक ज्ञान र अभ्यासलाई पुस्तौँदेखि संरक्षण गर्दै आएका छन्। आफ्नो पहिचान, परम्परागत जीवनपद्धति तथा पुर्ख्यौली भूमि, क्षेत्र र प्राकृतिक स्रोतसाधनमाथिको अधिकार प्राप्तिका लागि उनीहरूले लामो समयदेखि निरन्तर सङ्घर्ष गर्दै आएका छन्।









