भारी वर्षाको जोखिम, विराटनगरका विद्यालय बन्द

0 Shares

विराटनगर । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालय असोज ८ र ९ गते बन्द गर्न अनुरोध गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभागबाट प्राप्त मौसम पूर्वानुमानअनुसार २०८३ साल असोज ८ गतेदेखि ११ गतेसम्म नेपालभर भारीदेखि अति भारी वर्षा हुन सक्ने उल्लेख गरिएको छ।

उक्त अवधिमा स्थानीय खोलानाला तथा नदीमा पानीको बहाव बढ्न सक्ने, सडक तथा बस्तीमा पानी जम्न सक्ने, डुबान तथा बाटोघाटो अवरुद्ध हुनेलगायत विपद्जन्य जोखिम हुनसक्ने भएकाले विद्यार्थी तथा आम नागरिकको सुरक्षालाई ध्यानमा राखी विद्यालय बन्द गर्न अनुरोध गरिएको हो।

महानगरले असोज ८ र ९ गते सबै विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन सम्बन्धित विद्यालयलाई आग्रह गरेको छ। साथै, सुरक्षित विद्यालय भवनलाई आवश्यकताअनुसार विपद् प्रभावित नागरिकका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न र यससम्बन्धी कार्यका लागि प्रशासनसँग सम्पर्कमा रहन समेत अनुरोध गरेको छ।

सम्बन्धित समाचारसबै