काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक निर्धारित समयभन्दा लम्बिने संकेत देखिएको छ। सबै केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेपछि मात्रै सचिवालय बैठक बस्ने भएपछि केन्द्रीय कमिटी बैठकको समयसमेत थपिन सक्ने भएको हो।
ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा जारी बैठकको आज तेस्रो दिन हो। बैठक बिहान ९ बजेदेखि सुरु हुने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले बताएका छन्।
हिजो ११८ जना केन्द्रीय सदस्यले बैठकमा धारणा राखेका थिए। १६ जना सदस्य भने बैठकमा अनुपस्थित रहेका छन्। बाँकी सदस्यले आज आफ्नो धारणा राख्ने कार्यक्रम छ।
सबै सदस्यले बोलेपछि मात्रै सचिवालय बैठक बस्ने एमालेको तयारी छ। सचिवालय बैठक आजै बस्न नसके भोलि बस्ने र त्यस अवस्थामा केन्द्रीय कमिटी बैठक पनि एक दिन लम्बिने आचार्यले बताएका छन्।
एमालेले असोज ५ गतेदेखि सुरु गरेको केन्द्रीय कमिटी बैठक असोज ७ गतेसम्म सम्पन्न गर्ने पूर्वनिर्धारित कार्यतालिका थियो। तर सदस्यहरूको धारणा राख्ने क्रम नसकिएकाले अब बैठकको अवधि थपिन सक्ने भएको हो।
अब बाँकी सदस्यहरूको धारणा र त्यसपछि बस्ने सचिवालय बैठकले एमालेको केन्द्रीय कमिटी बैठक कहिलेसम्म चल्ने भन्ने टुंगो लगाउनेछ।