मोरङ । जीवन विकास समाजले आफ्नो २९औँ वार्षिक उत्सवको अवसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ।
कटहरी–२ हल्दिबारीस्थित जीवन विकास सामुदायिक अस्पतालसँगै रहेको नहरको बाटोमा विभिन्न प्रजातिका बिरुवा रोपेर संस्थाले वार्षिकोत्सव मनाएको हो।
वि.सं. २०५४ साल असोज ५ गते ‘गरिबी रहित नेपाल’को परिकल्पनासहित स्थापना भएको जीवन विकास समाजले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
वृक्षरोपण कार्यक्रममा जीवन विकास समाजका अध्यक्ष रिबोल देवी मण्डल, उपाध्यक्ष, सचिव, संस्थापक सदस्य तथा कर्मचारीहरूको सहभागिता थियो। यस्तै, जीवन विकास सामुदायिक अस्पतालका सञ्चालक समिति संयोजक तेजस्वी मण्डल, सञ्चालक तथा प्रशासन प्रमुख अनिता कुमारी गच्छदारसहित चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी सहभागी भएका थिए।
कार्यक्रममा सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको सन्देश दिएका थिए।
बढ्दो तापक्रम वृद्धि, जलवायु परिवर्तन, अनियमित वर्षा, बाढी, पहिरो तथा अत्यधिक गर्मीका कारण वातावरणीय चुनौती बढिरहेको अवस्थामा वृक्षरोपणलाई प्रकृति संरक्षणसँगै सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाइएको संस्थाले जनाएको छ।
जीवन विकास समाजले स्थापनाको २९ वर्षको अवधिमा सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको छ। संस्थापक संस्थाका रूपमा रहेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत सेवा विस्तार भइरहेको जनाइएको छ।