काठमाडौं |अन्तरिक्षबाट पृथ्वीको मनोरम दृश्य हेर्ने रहर हामी धेरैको
हुन सक्छ। तर पृथ्वीको गुरुत्वाकर्षणमा बानी परेको हाम्रो शरीरका
लागि अन्तरिक्षको बसाइ त्यति सहज हुँदैन।
पृथ्वीमा फर्किसकेपछि अन्तरिक्षमा हुने ‘तौलविहीनता’को अवस्थाबाट मुक्त हुन हाम्रो शरीरलाई वर्षौँ लाग्न सक्छ।
नासाका दुई अन्तरिक्षयात्री सुनी विलिअम्स र बुच विल्मोर नौ महिना अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा बिताएर भर्खरै पृथ्वीमा फर्किएका छन्। अहिले उनीहरू पृथ्वीमा ‘पुनर्स्थापित’ हुने क्रममा छन्।
“हालसम्म मानिस पुगेका ठाउँहरूमध्ये सबैभन्दा चरम अवस्था भएको ठाउँ अन्तरिक्ष पनि हो। त्यस्तो चरम अवस्थालाई सामना गर्न सक्ने गरी हाम्रो शरीर बनेको छैन,” साउथ वेल्स विश्वविद्यालयमा ह्यूमन फिजिओलजीका प्राध्यापक डेमिअन बेली भन्छन्।
अन्तरिक्षमा प्रवेश गर्नासाथ मानवको शरीरमा परिवर्तन हुन थाल्छ। सुरुसुरुमा अद्भुत अनुभूति हुन्छ।
“बिदामा रमाइलो गरे जस्तो हुन्छ,” सन् २०१५ आईएसएसमा गएका अन्तरिक्षयात्री टिम पिक भन्छन्।
“तपाईँको मुटुलाई आराम भए जस्तो हुन्छ। तपाईँका मांसपेशी र हड्डीहरूलाई पनि आनन्द अनुभूति हुन्छ।”
“शून्य गुरुत्वाकर्षण भएको अन्तरिक्ष स्टेशनमा तपाईँ तैरिने अवस्था बन्छ।”
उठ्नै नपर्ने गरी बिछ्यौनामा पल्टिएर हप्तौँ बिताएको कल्पना गर्नुहोस् त! वैज्ञानिकहरू शून्य गुरुत्वाकर्षणको अनुसन्धान गर्न यस्तो विधि अवलब्धन गर्छन्। त्यससँगै तपाईँले त्यहाँको अवस्था बुझ्न थाल्नुहुन्छ।