मङ्गोलियामा फेला परेको करोडौँ वर्ष पुरानो जीवाश्म ‘दुर्लभ दुईऔँले डाइनसोरको’

0 Shares

मङ्गोलियाको गोबी मरुभूमिमा फेला परेको जीवावशेषका आधारमा उक्त जीव हातमा दुइटा औँला भएका डाइनोसरको एउटा दुर्लभ प्रजातिको भएको निष्कर्षमा वैज्ञानिकहरू पुगेका छन्।

वैज्ञानिक नाम ‘डुओनाइकस शोग्ट्बातरी’ (Duonychus tsogtbaatari ) दिइएको उक्त डाइनसोर ‘थेरिजाइनसोर’ (Therizinosaur) समूहमा पर्ने नितान्त भिन्न जीव हो। उक्त समूहमा पर्ने डाइनसोरहरू पछाडिका खुट्टामा उभिन्थे र तिनका खुट्टामा प्रायः तीनवटा खुर वा औँला हुन्थे।

डुओनाइकस शोग्ट्बातरी मध्यम आकारको थियो। त्यसको तौल झन्डै २६० केजी भएको अनुमान गरिएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार उक्त डाइनसोरका औँलाहरू लामा र बाङ्गा थिए।

ती औँला दोबार्न मिल्ने खालका भएकाले उक्त जीवसँग वनस्पतिहरू सजिलै समात्ने क्षमता भएको ठानिएको छ।

थेरिजाइनसोर समूहमा भएका कुनै जीव शाकाहारी थिए भने कुनै शाकाहार र मांसाहार दुवै गर्थे।

आजभन्दा १४.५ करोड वर्षअघि सुरु भई ६.६ करोड वर्षअघि टुङ्गिएको ‘क्रिटेशस’ युगमा ती डाइनसोर एशिया र उत्तर अमेरिकामा विचरण गर्थे।

‘जुरासिक वर्ल्ड डोमिनिअन’ चलचित्रमा भीमकाय र लामा नङ्ग्रा भएका थेरिजाइनसोरस देखाइएको छ। ती जीव त्यस्तै हुने र तिनको स्वरूप अस्वाभाविक देखिने यो शोधका एक लेखक डा डार्ला जेलेनित्स्कीले बताइन्। उनी यूनिभर्सिटी अफ क्यालगरीमा सहायक प्राध्यापक छिन्।

डाइनसोरको जीवाश्म मङ्गोलियास्थित गोबी मरुभूमिको बायान्शिरी फर्मेशनमा फेला परेको थियो। उक्त नमुना क्रिटेशस युगको उत्तरार्धतिर (६.६ करोड देखि १०.०५ करोड वर्षअघि) को हो।

सम्बन्धित समाचारसबै