0
Shares
काठमाडौं- काठमाडौंको बूढानीलकण्ठस्थित आकासे धारामा फैलिएको १४ रोपनी क्षेत्रफलको अर्गानिक फार्म हाउस पछिल्ला दिनमा एक आकर्षक कृषि पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
ताप्लेजुङकी बन्दी शेर्पाले सञ्चालन गर्दै आएको उक्त फार्म हाउसले हाल आठ जनालाई रोजगारी पनि दिएको छ । करिब १५ वर्षदेखि सञ्चालित यो फार्ममा नियमित रूपमा गाईपालन, बाख्रापालन र अर्गानिक तरकारी खेती हुँदै आएको छ ।
शेर्पाले फार्मसँगै अर्गानिक रेस्टुरेन्ट पनि सञ्चालन गरेका छन् । यहाँ फार्ममा उत्पादित ताजा र अर्गानिक सामग्री प्रयोग हुँदै आएको उनले बताए । उनका अनुसार रेस्टुरेन्टमा आउने ग्राहकले स्वस्थ, स्वादिलो र पौष्टिक परिकारको स्वाद लिन पाउनेछन् ।