सामाजिक सञ्जालमा एउटा ट्राफिक प्रहरीले सर्वसाधारण जनतामाथि शारीरिक आक्रमण गरेको भिडियो अहिले तीव्र गतिमा भाइरल भइरहेको छ। भिडियोमा देखिएअनुसार ट्राफिक प्रहरीले लात्ती लात्तले एक व्यक्तिलाई आक्रमण गरेको स्पष्ट देखिन्छ। उक्त व्यक्तिको दोषी वा निर्दोषको अवस्था हालसम्म पुष्टि भइसकेको छैन। तर, सार्वजनिक स्थलमा, त्यो पनि ड्युटीमा रहेका सुरक्षाकर्मीबाट गरिएको यस्ता हर्कतले आम जनमानसमा आक्रोश फैलिएको छ।
सरकारी पोशाकमा सजिएका सुरक्षाकर्मीहरू जनताको सुरक्षाका लागि खटिने हो भन्ने आम बुझाइ रहँदै आएको छ। तर, जब यही पोशाकधारीबाट जनतामाथि आक्रमण हुन्छ, तब प्रश्न उठ्न थाल्छ – ‘जो रक्षक, उही भक्षक?’
सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आक्रोश पोख्दै गृहमन्त्रालयसँग जवाफ मागिरहेका छन्। के यस्तो आचरण गृहमन्त्रालयबाट अनुमोदन गरिएको आदेशअनुसार भइरहेको हो त? के नेपालमा अधिकार प्रयोगको नाममा नागरिकमाथि दमन भइरहेको हो?
अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको छवि यस्ता घटनाबाट असर पर्ने सम्भावना बढ्दो छ। राष्ट्रसेवक भनिएका व्यक्तिहरूले अनुशासनहीनता प्रदर्शन गर्दा सम्पूर्ण सरकारी संयन्त्रको नैतिकता माथि प्रश्न खडा हुन्छ।
सार्वजनिक सुरक्षा र नागरिकको सम्मान दुवै एकैसाथ सुनिश्चित हुनुपर्छ भन्ने आवाज चुलिंदै गएको छ। सम्बन्धित निकायले तत्काल छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने माग सर्वत्र उठिरहेको छ।